सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाइँ जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गरेका छन् ।
शंखधर साख्वाको सालिकमा माल्यार्पणपछि आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।
कोरोना कहरका कारण नजिकबाट कुरा गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उनले अनुशासित बनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरे ।
उनले भने, ‘एक–आपसमा नजिकबाट कुरा गर्न चाहान्छाैँ, तर टाढाटाढा बस्नुपर्ने अवस्था छ । टाढा बस्दा पनि मुख छोप्नुपर्ने अवस्था छ । सँगै हिँडेको साथीलाई नचिनेर एकछिन मास्क खोल्नुहोस् भन्नुपर्ने बाध्यता छ । कोभिडसँग जुध्न कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जरुरी छ । सरकारबाट कोरोनाबाट जोगिने संक्रमण भइहाल्यो भने पनि नआत्तिने । अब कोरोनासँगै यात्रा गर्नुपर्छ, तर नभेटिने गरी ।’
उपत्यका मेयर फोरमका सचिवसमेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले चाडबाड मनाउन घर गएकाहरू उपत्यका फर्किने क्रम सुरु भएकाले संक्रमणको जोखिम अझ बढेको बताए ।
उनले मंसिर महिनालाई अत्यन्त जोखिमयुक्त महिनाको रूपमा लिएर गम्भीरताका साथ काम गर्नुपर्ने बताए ।
केही दिनअघि उपत्यका मेयर फोरमले सरकारलाई छठपछि कडा लकडाउन जारी गरी उपत्यकामा बढ्दो संक्रमणको दरलाई नियन्त्रणमा ल्याउन आग्रह गरेको थियो ।
आज नेपाल संवतलाई स्वागत गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाको सम्भावना गरिएको छ ।
नेपाल संवत्अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।
०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।