राष्ट्रपति आउँछन्, जान्छन्, तर रुपर्ट मर्डक टिकिराख्छन् । उमेरले ८० को दशकमा हिँडिरहेका र रूढिवादी रुझानका मिडिया मुगल रुपर्ट मर्डकले ट्रम्पको हारलाई कसरी लिनेछन् भन्ने धेरैमा चासो थियो । यसको जवाफ पछिल्ला दिन मर्डकका मिडियामा नजर लाए थाहा पाइन्छ । मर्डकका मिडियाको बदलिएको दिशाले उनको चतुर तथा व्यावहारिक सोचलाई देखाउँछ ।
मर्डकको ट्याब्लोइड न्युयोर्क पोस्टले चुनावअघि जो बाइडेन र उनको छोरालाई निसाना बनाउने गथ्र्यो । तर, उही पत्रिकाले अघिल्लो आइतबार एक आवरण खबर लेख्यो– ‘इट्स जो टाइम’ (यो जो बाइडेनको समय हो) । लेखको एक ठाउँमा ट्रम्पको राजनीति ‘ओरालो लागेको’ बताइएको छ । त्यस्तै, ट्रम्पको चुनावी धाँधलीको आरोपलाई गलत बताइएको छ । उनको अर्को चर्चित पत्रिका द वाल स्ट्रिट जर्नलले पनि ट्रम्पको धाँधलीको दाबीलाई अस्वीकार गरेको छ । पत्रिकाको रूढिवादी रुझानको विचारपृष्ठले पनि ट्रम्पलाई सम्मानजनक रूपमा हार स्विकार्न आग्रह गरिरहेको छ ।
मर्डकको सबैभन्दा प्रभावशाली मिडिया शाखा फक्स न्युजले एरिजोनामा बाइडेनले जित्ने प्रक्षेपण गरिरहँदा ट्रम्पका सहयोगीले यसो नगर्न दबाब दिएका थिए । ती सहयोगीले मर्डकलाई आफ्नो अडान बुझाउन इंग्ल्यान्डसम्म पछ्याए । तर, फक्स न्युज आफ्नो प्रक्षेपणमा कायम रह्यो । तर, फक्स न्युजका केही चर्चित प्रस्तोताले भने ट्रम्पको पक्ष लिएको पनि देखिन्छ ।
सिन ह्यानिटीले ‘एरिजोनामा गन्तीको सुरुतिर बाइडेनको जितको घोषणा गर्नेले गल्ती गरेको’ बताए । जानकारहरू मर्डकको मिडिया संसार बुझ्ने प्रयासलाई क्रेमलिनको अध्ययनसँग तुलना गर्छन् । तर, मर्डकका पूर्व तथा अहिलेका मित्रका अनुसार ट्रम्पको हारप्रति मर्डकको जवाफलाई खासमा शितयुद्धकालीन अर्को पदावली ‘रियल पोलिटिक’ले राम्ररी समेट्छ ।
‘उनी सधैँजसो नयाँ परिस्थितिलाई आफ्नो अनुकूल उपभोग गर्ने प्रयास गर्छन्,’ मर्डकका एक पूर्वसल्लाहकारले नाम उल्लेख नगर्ने सर्तमा भने । विगत ५० वर्षदेखि पत्रिका र टेलिभिजन सञ्जाल क्षेत्रमा प्रभावशाली रहेका मर्डकलाई सत्तामा जो आए पनि परिस्थितिलाई अवसरमा बदल्न सकिन्छ भन्ने थाहा छ । आखिरमा फक्स न्युजको सबैभन्दा उच्च रेटिङ र नाफा ओबामा शासनमा हुँदा आउन सुरु भएको थियो । यही अवधिमा फक्सले असन्तुष्ट रूढिवादी समुदायमाझ जग बलियो बनाएको थियो । (यही परिघटना दोहोरिँदा ट्रम्पको कार्यकालमा एमएसएनबिसीले उदारवादीहरूमाझ पकड बनायो ।)
‘फक्स न्युज सन् १९९६ देखि प्रसारण भइरहेको छ । यसबीच धेरै राष्ट्रपति भए र अझै धेरै राष्ट्रपति आउँदा पनि फक्स न्युज रहिरहनेछ,’ दक्षिणपन्थी मिडियामा लगानी जुटाउने क्रिस्टोफर बाल्फले भने । यो साँचो हो कि फक्स न्युजले ट्रम्प युगमा नयाँ उचाइ हासिल गर्यो । पछिल्लो गर्मी महिनामा यो सञ्जाल सम्पूर्ण प्राइम टाइम टेलिभिजनमध्ये सबैभन्दा उच्च रेटिङ भएको सञ्जाल थियो ।
तर, बाइडेन सत्तामा हुँदा उनका विरोधीहरूले फक्स खोज्ने हुँदा यसको रेटिङ बढ्ने फक्ससँग संलग्न कामदारहरू बताउँछन् । ‘मुख्यतः मर्डक परिवार हरुवाहरूको समर्थन गर्दैनन्,’ मर्डकको परिवारबारे जानकारहरू बताउँछन् । मर्डकका पब्लिसिस्टले संकेत गरेअनुसार अघिल्लो महिना नै रुपर्ट मर्डकले ट्रम्पको पुनर्निर्वाचनको आशा मारेका थिए ।
फक्स न्युज सन् १९९६ देखि प्रसारण भइरहेको छ । यसबीच धेरै राष्ट्रपति भए र अझै धेरै राष्ट्रपति आउँदा पनि फक्स न्युज रहिरहनेछ । त्यसैले बदलिएको परिस्थितिलाई आफूअनुकूल बनाउन रुपर्ट सचेत छन् ।
मर्डकसँग काम गरेका कैयौँ मानिसका अनुसार उनमा बाइडेनप्रति नकारात्मक धारणा छैन । उनले केही अवसरमा पूर्वराष्ट्रपतिको प्रशंसा नै गरेका छन् । यी वचन आफैँमा रियल पोलिटिकअन्तर्गतका हुन् । मर्डकले आफ्नो प्रभाव यथावत् राख्नका लागि विगतमा पनि लचकता देखाएका उदाहरण छन् । वर्षौं कन्जरभेटिभ पार्टीलाई समर्थन गरेका मर्डक लेबर प्रधानमन्त्री ब्लेयरसँग नजिक भएको इतिहास छ ।
फक्स न्युजका केही प्राइम टाइम स्टारहरू भने एरिजोनामा बाइडेनको जित छिटै घोषणा गरेपछि दर्शक आफूविरुद्ध उभिएकोमा चिन्तित छन् । उनीहरू आफ्नो व्यक्तिगत रेटिङलाई लिएर चिन्तित छन् । बाहिर जस्तो देखिए पनि मर्डकको विचारधारामा पूर्ण रूपान्तरण भएको भने होइन । जस्तो, अहिले पनि फक्सका एक प्रस्तोता कार्लसनले लस एन्जल्समा गएर मर्डकका छोरा लक्लनलाई भेटिरहेका छन् । लक्लन अहिले फक्स न्युजको अभिभावक कम्पनीका कार्यकारी अध्यक्ष हुन् । लक्लनले विज्ञापनदाताको वहिष्कारका बाबजुद कार्लसनका टिप्पणीलाई समर्थन जनाइरहेका छन् ।
ट्रम्पले फक्स न्युजलाई प्रतिस्पर्धा दिन सक्ने आफ्नै मिडिया प्लेटफर्म सुरु गर्ने सम्भावनाका कारणले रुपर्ट मर्डकले ट्रम्पसँग नजिकको सम्बन्ध राखेको बताइन्छ । तर, ट्रम्पले टेलिभिजन क्षेत्रमा खुट्टा हाल्नुअघि विभिन्न अवरोध सामना गर्नुपर्ने हुन्छ । परम्परागत मिडियामा विशेष चाख दिने ट्रम्पले फक्स न्युजका पूर्वप्रस्तोता बिल ओरेलीजस्तो अनलाइनमा मात्र प्रसारण हुने सेवा सञ्चालन गर्नेछैनन् ।
फक्स न्युज दक्षिणपन्थी सञ्जाल वन अमेरिका न्युजभन्दा धेरै घरमा उपलब्ध छ । कम्कास्ट र स्पेक्ट्रमजस्ता केबलप्रदायकहरूले ट्रम्पको नयाँ सञ्जाल सञ्चालनमा आएमा तिनलाई आफ्नोमा जोड्न सहमति दिन आवश्यक छ । विभिन्न नियमले गर्दा वर्तमान च्यानलको फम्र्याट अचानक बदल्न कठिन हुनेछ । फक्स न्युजले भर्खरै स्थापनायताकै उच्च प्राइम टाइम रेटिङ सप्ताह हासिल गर्यो । ‘कन्जरभेटिभ मिडियामा बाइडेनको जितले असर पर्छ भन्ने डर देखिएको छैन,’ दक्षिणपन्थी मिडियाका कन्सल्ट्यान्टका रूपमा काम गर्ने क्रिस्टोफर बाल्फले भने ।
पत्रकार ग्रिनबोम व्यापार, संस्कृति र राजनीतिबीचको सम्बन्धमा विशेष केन्द्रित भएर लेख्छन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य