बिर्तामोड–हर्चना कल्भर्ट सडकको सकस

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

थपिएको समय पनि सकियो, सडक निर्माण सकिएन

मेचीकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको मुक्ति चोकदेखि हर्चना कल्भर्टसम्मको ४.०७ किलोमिटर सडक निर्माणका लागि थपिएको समय सकिएको तीन महिना भयो । तर, काम भने ६० प्रतिशत मात्र हुँदै छ । ठेक्का सम्झौताको समय गत पुसमै सकिएको थियो । त्यसपछि साउन अन्तिमसम्म म्याद थपियो, तर थपिएको म्याद सकिएको तीन महिनासम्म सडक निर्माणले गति लिन नसकेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । 

बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत हर्चना कल्भर्टसम्म चार किलोमिटर चार लेनको सडक निर्माणका लागि २४ असार ०७५ मा आशिष–प्रेरा जेभीले १८ महिनामा सक्ने गरी २७ करोड नौ लाख ७० हजारमा ठेक्का लिएको थियो । २४ पुस ०७६ मा काम सम्पन्न नभएपछि साउन अन्तिमसम्मको समय थपिएको थियो । थपिएको समयमा पनि काम नसकेपछि आशिष–प्रेरा जेभीले पुनः म्याद थपका लागि सडक डिभिजन कार्यालय दमकमा निवेदन दिएको छ । तर, पहिलोपटक म्याद थपिएकाले सडक डिभिजन कार्यालयले म्याद थप्न सक्ने अवस्था नरहेको सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेलले जानकारी दिए ।

‘उहाँहरूले सार्वजनिक खरिद ऐनको नवौँ संशोधनअनुसार म्याद थपिसक्नुभएको छ । कोरोना महामारीका कारण भएको लकडाउनको समयपछि साउन अन्तिममा उहाँहरूको म्याद सकिएको हो । निर्माण कम्पनीले निवेदन दिएको छ । सरकारले लकडाउनमा रोकिएका कामका बारेमा केही निर्णय गर्छ कि भनेर पर्खिएका छौँ,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘अब म्याद थप्नुपर्दा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । लकडाउनले असर गरेका ठेक्काका विषयमा निर्णय दसैँ र तिहारको बीचमा आउँछ भन्ने थियो । अब मन्त्रिपरिषद्मा पठाउने तयारी गर्दै छौँ ।’

महामारीले पार्यो असर
जिल्ला सदरमुकाम भद्रपुर जाने यो मुख्य सडक हो । बिर्तामोडबाट भद्रपुरसम्म १६ किलोमिटर दूरी छ । सुरुमा दुई दशमलव आठ किलोमिटर मात्र चार लेन बनाउने सम्झौता भए पनि पछि चार किलोमिटरसम्म नै चार लेनमा स्तरोन्नति गर्ने सम्झौता भएको थियो ।

सुरुबाटै सुस्त भएकाले समयमा काम नसकिएको सडक डिभिजनले जनाएको छ । ‘सार्वजनिक खरिद ऐनअनुसार एक वर्षसम्म म्याद थप्न पाइन्थ्यो । उहाँहरूले काम सकिन्छ भनेर सात महिना मात्र म्याद थप्नुभयो । तर, महामारीले काम गर्न नपाएका कारण थपिएको समयमा काम हुन पाएन,’ उनले भने, ‘अब काम गर्ने हो भने त दुई–तीन महिनामै काम सकिने अवस्था देखिन्छ ।’ सडकमा रहेको विद्युत्को पोल, खानेपानीको पाइपलगायत कारण काम गर्न ढिला भएको सडक डिभिजन दमकका सूचना अधिकारी अनुप साउदेनले बताए । 

मुआब्जा विवाद पनि एक कारण
सुरुवाती समयमा सडकछेउमा रहेका भौतिक संरचना हटाउँदा मुआब्जा विवादका कारण पनि काम गर्न समस्या आएको थियो । जसका कारण समयमै काम नभएको बताइएको छ । निर्माण सुरु गर्दाताका सडकआसपास रहेका घर भत्काउँदा स्थानीयले विरोध गरेका थिए । सरकारले उक्त क्षेत्रमा रहेका ४३ घरलाई दुई करोड ७३ लाख ८६ हजार क्षतिपूर्ति दिएपछि मात्र काम अघि बढेको थियो ।

सडकको हालसम्म ड्रेनको काम, कल्भर्ट निर्माण, ग्राभेल्स सकिएको साउदेनले बताए । यस्तै, बेस हाल्ने काम पनि भइरहेको उनको भनाइ छ । ‘अब संरचना निर्माणको काम अन्तिम चारणमा पुगेको छ । ग्राभेल पनि समग्रमा सकियो,’ उनले भने, ‘अब मेसिनको काम रहन्छ । यो त चाँडै बन्छ । धेरै समय लाग्दैन ।’

समयमै सडक नबन्दा सास्ती
समयमा निर्माण सम्पन्न नहुँदा त्यहाँ यात्रा गर्ने यात्रुदेखि स्थानीय व्यापारीसम्मले सास्ती व्यहोर्नुपरेको छ । सडकको धुलोले पसलका सबै सामान बिग्रने समस्या भएको व्यापारीहरू बताउँछन् । यस्तै, त्यो सडक भएर यात्रा गर्न नै मुस्किल भएको स्थानीय हरि अधिकारीले बताए । ‘पसलको सामानहरूमा उस्तै धुलो लागेको छ । यो बाटो त धुलोले हिँड्नै सकिँदैन,’ उनी भन्छन्, ‘चन्द्रगढी जाँदा पनि चारआलीको बाटो प्रयोग गर्नुपर्छ । यसरी समयमा काम गर्न नसक्ने निर्माण कम्पनीलाई त कारबाही गरे मात्र चेत्ने थिए ।’

सुझावित समाचार