बैठक बोलाउन प्रचण्डसहित पाँच सचिवालय सदस्यद्वारा ओलीसमक्ष लिखित अनुरोध

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँचजना सचिवालय सदस्यले पार्टीमा देखिएको विवाद समाधान गर्न तत्काल सचिवालयको बैठक बोलाउन लिखित अनुरोध गरेका छन् । 

पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमा भेट गर्दै उनीहरूले पार्टीभित्र देखिएका समस्या र तत्कालीन राजनीतिक परिस्थितिबारे निर्क्याेलमा पुग्न बैठक अपरिहार्य रहेको निष्कर्षसहित लिखित अनुरोध गरेका हुन् । 

आज अपराह्न बालुवाटार पुगेका नेताहरूले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग लिखित अनुरोध गरे पनि ओलीले भने कुनै निष्कर्ष नदिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘हामीले कोराेनाले सिर्जना गरेको संकट सम्बोधन गर्न, स्थायी कमिटीले गरेका निर्णयहरूको कार्यान्वयन प्रक्रिया अगाडि बढ्न नसकेको स्थितिको समीक्षा तथा पार्टीमा उत्पन्न संकटको बारेमा छलफल गरेर पार्टीको एकताको रक्षा गर्न समयमा नै छलफल आवश्यक छ भन्दै तत्काल सचिवालयको बैठक बोलाउन लिखित अनुरोध गरेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने, ‘तर कमरेड अध्यक्ष केपी शर्मा ओलीले बैठकबारे आज निष्कर्ष दिनुभएको छैन ।’

आजको छलफलमा ओलीले पाँचजना सचिवालयका सदस्यको कुरा सुनेको बुझिएको छ । प्रवक्ता श्रेष्ठले भने भोलि या पर्सिसम्म बैठक बोलाउन अनुरोध गरेका थिए । ‘हामीले भोलि या पर्सिसम्म बैठक बसेर यी सबै विषयमा गम्भीरतापूर्वक छलफल गरौँ । एकताबद्ध बनाउने, विधि र पद्धतिका आधारमा पार्टी चलाउने र पार्टीको निर्णय सबैले मान्ने अवस्था सिर्जना गरौँ भन्नेमा जोड दिएका छौँ,’ उनले भने ।

सचिवालयका बहुमत सदस्यले गरेको लिखित आग्रहसमेत ओलीले नमानेको खण्डमा के गर्नुहुन्छ भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘अब हामी त्यसरी सोच्दैनौँ । भएन भने के गर्ने भनेर सोच्ने यो वेला होइन । बैठकमा यो सम्पूर्ण विषयमा छलफल गरेर निष्कर्ष निकाल्नु आजको आवश्यकता हो भन्ने हामीले ठानेका छौं ।’

नेकपाको सचिवालयमा दुई अध्यक्षसहित नौजना सदस्य रहेका छन् । आजको छलफलमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए । 

यसअघि उनीहरूले हिजो शुक्रबार र आज बिहान धुम्बाराहीस्थित पार्टी कार्यालयमा पछिल्लो विवादबारे छलफल गर्दै अध्यक्ष ओलीलाई बैठक बोलाउन अनुरोध गर्ने निर्णय गरेका थिए ।  
 

सुझावित समाचार