ग्लोबल आइएमई बैंकले २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुन्डामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
भोजपुरको षडानन्द गाउँपालिका वडा नं. ११, झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा इन्दिरा घले र धनुषाको कमला नगरपालिका वडा नं. ७, हाथमुन्डामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा धर्मेन्द्रकुमार महतो नियुक्त भएको बैंकले जनाएको छ ।
शाखारहित बैंकिङ सेवाबाट स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्नेलगायतका सेवा लिन सकिने बैंकले जनाएको छ ।
नयाँ शाखारहित सेवासहित बैंकले २ सय ६१ शाखा, २ सय ३७ एटिएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय ३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।