मास्क लगाऊँ, जीवन जोगाऊँ

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महाव्याधिको संकट निवारण गर्लान् भन्ने अपेक्षा गर्नुको कुनै अर्थ छैन

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

‘हामी यो महाव्याधि नियन्त्रण गरिरहेका छैनौँ,’ ह्वाइट हाउसका चिफ अफ स्टाफ (मुख्य सचिव) ले अभिव्यक्ति दिए । डोनाल्ड ट्रम्प प्रशासन आफ्नो मुख्य एवं तात्कालिक कामको सवालमा असफल भएको स्वीकारोक्ति हो यो अभिव्यक्ति । ब्यालेट बक्समा आफ्नो मत खसाल्दै गरेका अमेरिकी मतदाताका लागि एक अर्थमा यो समय सान्दर्भिक जानकारी हुन सक्छ । साथै, यो उत्तिकै भयानक विचार पनि हो ।

मुलुक नयाँ नेतृत्वको पर्खाइमा रहेका बखत अमेरिकी सरकार कोभिड–१९ नियन्त्रण प्रयासमा यति सजिलै हात उठाउन सक्दैन, किनकि यतिखेर अझै धेरै मानिसको जीवन एवं आजीविका दाउमा जो छ ।

नेतृत्वले मानिसलाई आफ्नो अनुहार ढाक्ने, अरूसँग सामाजिक दूरी कायम गर्ने, हात धुनेजस्ता आधारभूत सुरक्षात्मक उपाय अवलम्बन गर्ने कुरामा नागरिकलाई प्रोत्साहित नगर्ने र भाइरस संक्रमणको प्रकोप टेस्टिङ तथा ट्रेसिङद्वारा नियन्त्रणको कठोर प्रयास नगर्ने हो भने सबै मुलुकले चाँडै भाइरस संक्रमितको सुनामी सामना गर्नुपर्ने र स्वास्थ्य प्रणाली अस्तव्यस्त हुने चेतावनी विश्व स्वास्थ्य संगठनले आधिकारिक रूपले नै दिइसकेको छ ।

‘हामी खोप, उपचारात्मक तथा न्यूनीकरणका अन्य क्षेत्रमा पहुँचका लागि प्रयास गरिरहेका छौँ,’ ह्वाइट हाउसको वैकल्पिक सोचबारे विस्तार गर्दै चिफ अफ स्टाफ मार्क मेडोजले भनेका छन् । तर, मेडोजले सुझाएजस्तो फर्मास्युटिकल उद्धार योजनामा मात्रै भर पर्ने हो भने यो महाव्याधि वर्षाैंसम्म लम्बिने निश्चित छ । वास्तविकता के हो भने खोप तथा औषधोपचार चाहिन्छ, तर आधारभूत नियन्त्रणका उपाय पनि साथसाथै लैजानुपर्छ ।

अहिले कैयन् खोप विकासका क्रममा रहेकाले कुनै न कुनै खोप प्रभावकारी हुने आशा धेरै हदसम्म गर्न सकिन्छ, तर यसको सुनिश्चितता भइसकेको भने छैन । साथै, कुनै सफल खोपले यो कोभिड–१९ लाई भगाउने अपेक्षा पनि त गर्न सकिन्न । साथै थुप्रैले खोप लाउन अस्वीकार पनि गर्न सक्छन् । 

फेरि, कोभिड–१९ नियन्त्रणको आधारभूत रणनीति अभ्यासमा उतार्न सजिलो र प्रभावकारी पनि छ । मास्कले कुराकानी गर्दा वा श्वासप्रश्वासका क्रममा बाहिर उछिट्टिएर आउने थुकका मसिना छिटामार्फत एक व्यक्तिबाट अर्काे व्यक्तिमा भाइरस सर्ने कुरालाई छेक्छ । यसैले थुप्रै सहर र राज्यले मास्कलाई अनिवार्य गरेका छन् र यसरी लाखौँलाख मानिसको जीवन जोगिएको छ ।

मुलुक नयाँ नेतृत्वको पर्खाइमा रहेका बखत अमेरिकी सरकार कोभिड–१९ नियन्त्रण प्रयासमा यति सजिलै हात उठाउन सक्दैन, किनकि यति खेर अझै धेरै मानिसको जीवन एवं आजीविका दाउमा जो छ

एउटा नयाँ आकलनअनुसार यदि अमेरिकाका सबैले मास्क पहिरिएका हुन्थे भने मार्चसम्ममा कम्तीमा एक लाख ३० हजारको जीवन जोगिने थियो । तर, अझै पनि यसो गरिएन भने आगामी फेब्रुअरीको अन्त्यसम्ममा अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाखभन्दा बढी हुनेछ । 

प्रभावकारी खोपको विकास भइसकेपछि पनि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, वेलावेलामा हात धुने, भिडभाड नगर्ने र टेस्टिङ तथा ट्रेसिङ गर्नेजस्ता कार्य आवश्यक नै रहनेछन् । यही हप्ता जर्नल अफ अमेरिकन मेडिकल एसोसियसनमा महामारीविद् एन्थोनी फाउसीले लेखेका छन्, ‘यदि एक वा अधिक खोप प्रभावकारी देखिए र त्यसलाई आमसर्वसाधारणसम्म पुर्याउन थालियो भने पनि हर्ड इम्युनिटीको स्तरमा पुग्ने गरी पर्याप्त मानिससम्म पुर्याउन महिनौँ लाग्नेछ ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महाव्याधिको संकट निवारण गर्लान् भन्ने अपेक्षा गर्नुको कुनै अर्थ छैन । किनकि उनी आफैँ यदाकदा मात्रै मास्क लगाउँछन् । साथै उनी जो–जोले मास्क लगाए तीमध्ये अधिकांश कोभिड–१९ को सम्पर्कमा पुगेको निराधार एवं भ्रामक दाबी गर्छन् । उनी ती मानिसका कुरा सुन्छन्, जोसँग संक्रामक रोगबारेको कुनै विज्ञता छैन । आममानिसबीच भाइरसको संक्रमण बेरोकतोक फैलिन दिन इच्छुक छन् । अरू त अरू उनले आफ्नै कोरोना भाइरस टास्क फोर्समा रहेका विज्ञसँग समेत महिनौँदेखि भेटेका छैनन् ।

तथापि, अमेरिकीहरू भाइरस नियन्त्रणका लागि वासिंटनको नेतृत्व परिवर्तनसम्म पर्खिन सक्दैनन् । अहिलेका लागि राज्य तथा स्थानीय नेतृत्वले नागरिकलाई आफूले आफैँलाई जोगाउनयोग्य बनाउन जरुरी छ । भयावह बन्दै गरेको महाव्याधिको प्रकोपले मुलुकभरका अस्पताल भरिभराउ हुन थालेका छन् । यस्तोमा भाइरस संक्रमणको खतरा देखाउँदै मानिसलाई सन्देश दिनुपर्छ– मास्क लगाऊँ, जीवन जोगाऊँ । 
(ब्लुमबर्ग डटकमको सम्पादकीय)
 

सुझावित समाचार