अधिकमासका कारण यस वर्षको तिहार झन्डै एक महिना पछाडि धकेलिएको छ ।
त्यसैले यसपटक तिहारमा फूलको बजार प्रभावित हुने अनुमान गरिएको छ । किसानले लगाएको सयपत्री फूल फुल्ने समयभन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आकलन गरिएको उनीहरूले बताएका छन् ।
तर, पुष्प व्यवसायीहरू भने क्यालेन्डरको आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यस वर्षको मागलाई सहजै धान्ने बताएका छन् ।
फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले अधिकमासका कारण यसपटकको तिहार २०–२२ दिन पछाडि धकेलिए पनि फूलको बजारलाई कुनै असर नपर्ने बताए ।
घरेलु किसानले उत्पादन गरेको फूल तिहारअगाडि नै सुकेर जाने भए पनि व्यावसायिक रूपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारको मागलाई सजिलै धान्ने उनले बताए ।
गत वर्षको तिहारमा २५ लाख माला खपत भएको थियो । जसमध्ये मखमली माला पाँच लाख र सयपत्री माला २० लाख रहेको व्यवसायीले जनाएका छन् ।
यस वर्ष भने कोभिड संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आकलन गरिएको पनि अध्यक्ष कसजूले बताए ।
यस वर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने उनको भनाइ छ ।
यस वर्ष फूलको मूल्य भने केही महँगो पर्ने भएको उनले बताए । अध्यक्ष कसजूका अनुसार सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँ सम्म पर्न सक्ने बताए ।
गत वर्ष सयपत्री फूलको एउटा मालाको मूल्य ५० देखि ६० रुपैयाँ परेको थियो ।
पुष्प व्यवसायी श्यामसुन्दर प्रजापतिले भने तिहारका लागि लगाइएको सयपत्री फूल फूलिसकेको बताए ।
केही फूल तिहारसम्म काम नलाग्ने गरी सुकिसकेको पनि उनले बताए ।
चिसो बढ्दै जाँदा फूल झाँगिन नसक्ने र फुलेको फूलसमेत सुक्ने भएकाले तिहारसम्म सयपत्री फूललाई जोगाइराख्न समस्या भएको उनले बताए ।
तिहारपछाडि भए पनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट फूल आयात गर्न नहुने व्यवसायीहरूको भनाइ छ ।
अन्य मुलुकबाट नआउँदा आन्तरिक फूलको मूल्य बढ्छ भन्ने बुझाइले गर्दा आत्मनिर्भर भइसकेको अवस्थामा पनि फूल आयात हुने गरेको व्यवसायीले गुनासो गरेका छन् ।
गत वर्षको तिहारमा करिब १० लाख फूलका माला भारतबाट आयात भएको थियो ।