आइपिएलको पहिलो चरण : २८ खेलमा नौ हजार चार सय ४५ रन

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

रोयल्स च्यालेन्जर्स बेंग्लोरले कोलकाता नाइट राइडर्सलाई सोमबार राति ८२ रनको फराकिलो अन्तरले पराजित गरेसँगै १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो चरण सकिएको छ । कोरोना भाइरस (कोभिड– १९) का कारण आयोजक भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले आइपिएल युएईको तीन सहरमा गराइरहेको छ । अहिलेसम्म सहभागी आठै टोलीले सात–सात खेल खेलेका छन् । पहिलो चरणसम्म केवल दुई ब्याट्सम्यानले मात्र सतकीय इनिङ्स खेलेका छन् । 

दुबईको दुई रंगशाला तथा शारजहाँ मैदानमा ब्याट्सम्यान र बलरबीच को श्रेष्ठ भन्ने प्रतिस्पर्धा भइरहेको छ । यद्यपि सुरुमा दर्शकरहित आइपिएल हुने भनिए पनि बिसिसिआईले थोरै समर्थकलाई रंगशालाभित्र प्रवेश अनुमति दिएको छ । जारी आइपिएलको २८ खेलमा कुल नौ हजार चार सय ४५ रन भएको छ । 

साबिक विजेता नै शीर्ष स्थानमा
आइपिएलको पहिलो चरणमा साबिक विजेता मुम्बई इन्डियन्स नै १३औँ मा पनि शीर्ष स्थानमा छ । मुम्बईले सातमध्ये पाँच खेलमा जित निकाली अंक–तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । यसपछि दिल्ली क्यापिटल्सले सात खेलमा पाँच जित र दुई हारको सामना गरी १० अंक जोडेको छ । रोयल्स च्यालेन्जर्स बेंग्लोरले पनि १० अंक बटुलेको छ । रनरेटमा दिल्ली दोस्रो र बेंग्लोर तेस्रो स्थानमा छन् । सुरुवाती ब्याटिङमा दमदार प्रदर्शन गरेको किंग्स ११ पञ्जाब तालिकाको पुछारमा छ । पञ्जाबले सात खेलमा एक मात्र जित हात पारेको छ । ६ खेलमा हार व्यहोरेको पञ्जाब २ अंकका साथ पुछार (आठौँ) स्थानमा सीमित छ । कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स तथा साबिक उपविजेता चेन्नई सुपर किंग्स प्ले अफका लागि प्रयासरत देखिन्छन् ।

लोकेश राहुल अगाडि
किंग्स ११ पञ्जाब सहभागी टोलीमध्ये सबैभन्दा कमजोर देखिए पनि कप्तान लोकेश राहुलको ब्याट चलिरहेको छ । सात खेलमा राहुलले तीन सय ८७ रन जोडेका छन् । सर्वाधिक रन बटुलेका कारण लोकेशले ओरेन्ज क्याप हात पारेका छन् । उनले एक सतक तथा तीन अर्धसतकीय इनिङ्स खेलेका छन् । अर्को रमाइलो पक्ष के छ भने किंग्स ११ कै अर्का ओपनर मायांक अग्रवाल व्यक्तिगत रन बटुल्नेको पंक्तिमा दोस्रो स्थानमा छन् । मायांकले सात खेलमा एक सतक तथा दुई अर्धसतकीय इनिङ्सको मद्दतमा तीन सय ३७ रन बनाएका छन् । 
अंक–तालिकाको सातौँ स्थानमा रहेको चेन्नईका फाफ डु प्लेसिसले यसपटक पनि आफ्नो जादुमयी ब्याटिङ प्रभाव राखेका छन् । दुईपटक नटआउट रहेका डु प्लेसिसले तीन सय सात रन जोडेका छन् । उनी तेस्रो स्थानमा छन् । प्लेसिसले तीन अर्धसतकीय इनिङ्स खेल्दा २९ चौका र आठ छक्का लगाएका छन् । 
सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर धेरै रन बनाउने पंक्तिको चौथो स्थानमा रहँदा दुई सय ७५ रन बनाएका छन् । उनले यो सिजनमा दुई अर्धसतक खेले । पाँचौँ स्थानका जोनी वेरिस्टोले तीन अर्धसतकसहित दुई सय ५७ रन बनाए । 

सर्वाधिक विकेट लिनेमा कगिसो रवाडा 
यो चरणमा दिल्लीको सफलतामा दक्षिण अफ्रिकी फास्ट बलर रवाडाको प्रदर्शन अहं मान्न सकिन्छ । उनले सातै खेलमा सहभागिता जनाउँदै १७ विकेट लिएका छन् । पहिलो चरणमा उनी धेरै विकेटले बलरको सूचीको शीर्ष स्थानमा छन् । उनले २७.४ ओभर बलिङ गर्दै दुई सय १३ रन खर्चेका छन् । मुम्बई इन्डियन्सका ट्रेन्ट बोल्ट रवाडाभन्दा ६ विकेटले पछि रहँदै दोस्रो स्थानमा छन् । बोल्टले सात खेलमा दुई सय १९ रन खर्चंदै ११ विकेट लिएका छन् । यसैगरी मुम्बईकै जसप्रित बुमराहले पनि ११ विकेट हात पारेका छन् । हैदराबादका अफगानिस्तानका लेग स्पिनर रसिद खानले १० तथा बेंग्लोरका युजवेन्द्र चाहल र किंग्स ११ का मोहम्मद सामीले १०–१० विकेट लिएका छन् । 

पाँच ब्याट्सम्यानले बनाए तीन अर्धसतक
शारजहाँ र दुबईका पिचमा बलरभन्दा ब्याट्सम्यान हाबी भएका देखिन्छन् । पावर प्ले तथा अन्तिम पाँच ओभरमा ब्याट्सम्यानहरूको स्ट्राइक अकासिएको देखिन्छ । अहिलेसम्म पाँच ब्याट्सम्यानले अर्धसतकीय इनिङ्स खेल्न सफल भएका छन् । यी पाँचै ब्याट्सम्यानले सातै खेल खेले । चेन्नईका फाफ डु प्लेसिस, किंग्स ११ का लोकेश राहुल, बेंग्लोरका देवदत्त पडिकल, बेंग्लोरका एबी डी भिलियर्स तथा हैदराबादका जोनी वेरिस्टोले तीन–तीन अर्धसतक जमाएका छन् । 

सात बलरका मेडन ओभर
टी–२० फम्र्याटमा मेडन ओभर खेल दुर्लभ मानिन्छ । यो विधाको क्रिकेटमा ब्याट्सम्यान आकर्षक स्ट्रोक लगाउने गर्छन् । टी–२० खेलमा कुनै बलरले एक मेडन ओभर गर्दा विपक्षी टोलीको रनरेट एकैपटक घट्ने गर्छ । यसैकारण टी–२० मा मेडन ओभर गर्दा ती बलरको तारिफ सर्वत्र हुने गर्छ । यो आइपिएलमा सात बलरले मेडन ओभर फ्याँकेका छन् । किंग्स ११ पञ्जाबका अर्शदीप सिंहले दुई खेलमा एक मेडन ओभर गरे । कोलकाताका शिभम मावीले पाँच खेलमा एकपटक मेडन ओभर गर्न सफल भए । हैदराबादका रसिद खान, किंग्स ११ का सेल्डन कोटरेल, बेंंग्लोरका नवदीप सैनी, हैदराबादका टी नटराज र मुम्बईका टे«न्ट बोल्टले एक–एकपटक मेडन ओभर गरेका छन् । 

डटबल फ्याँक्नेमा जोफ्रा आर्चर शीर्ष स्थानमा
१३औँ आइपिएलमा पाँच बलरले धेरै डटबल फ्याँकेका छन् । यसमा राजस्थान रोयल्सका जोफ्रा आर्चर शीर्ष स्थानमा छन् । उनले अहिलेसम्म २८ ओभरमा ८७ पटक डटबल फयाँके । दिल्लीका एनरिच नोर्टजेका २८ ओभरमा विपक्षी ब्याट्सम्यानले ७७ पटक रन नै बटुल्न सकेनन् । मुम्बईका जसप्रितले २८ ओभरमा ७६ तथा हैदराबादका रसिद खानले २८ ओभरमा ७५ पटक डटबल फ्याँके । किंग्स ११ का बोल्ट २७.२ ओभरमा ७० चोटी डटबल फ्याँक्न सफल भए ।

छक्का र चौकामा को अगाडि ? 
आइपिएलको मजा नै छक्का र चौकाको वर्षा हुनु हो । यसपटक ब्याट्सम्यानहरूले धेरै बाउन्ड्री लगाएका छन् । किंग्स ११ का निकोलास पुरनले सात खेलमा सर्वाधिक १६ छक्का लगाएका छन् । राजस्थानका सन्जु सामसनले १६ छक्का तथा राहुलले १५ छक्का ठोकेका छन् । ब्याट्सम्यानहरूले छक्का लगाएको कुरा गरिरहँदा चौकाको समेत कुरा हुनु नै पर्छ । यसमा किंग्स ११ का कप्तान लोकेश राहुल अगाडि छन् । उनले अहिलेसम्म ३७ चौका हिर्काएका छन् । किंग्स ११ कै मायांक अग्रवालले ३४ तथा मुम्बईका सूर्यकुमार यादवले ३३ चौका प्रहार गरेका छन् ।

महँगा खेलाडीको प्रदर्शन
आइपिएलको अक्सन हुँदा को खेलाडी कतिमा बिक्री भयो भन्ने चासो हुन्छ । खेल जिताउन सक्ने खेलाडीमाथि फ्रेन्चाइज टोलीले बढीभन्दा बढी भाउ राखी भित्र्याउने गर्छ । चालू आइपिएलमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनी, बेंग्लोरका कप्तान विराट कोहली तथा कोलकाताका प्याट क्युमिन्स सर्वाधिक महँगा खेलाडीमा पर्छन् । यी तीनमध्ये विराटको ब्याट चलिरहेको छ । विराटले सात खेलमा दुई सय ५६ रन जोडेका छन् । १३औँ आइपिएलका लागि बेंंग्लोरले विराटलाई १७ करोड भारु खर्चेको छ । यसैगरी १५ करोड ५० लाख भारुमा कोलकातामा भित्रिएका क्युमिन्सले सात खेलमा केवल दुई विकेट मात्र लिए । १५ करोड भारुमा चेन्नईले रिटेन गरेका धोनीले सात खेलमा एक सय १२ रन मात्र जोडेका छन् । 

सस्ता खेलाडीको खेल कस्तो ?
बेंग्लोरका देवदत्त, किंग्स ११ का अर्शदीप सिंह तथा दिल्लीका हर्षल पटेल २०–२० लाख भारुमा अनुबन्धित भएका थिए । आइपिएलको अक्सनमा २० लाख भारु न्यूनतम बोली हो । देवदत्तले सात खेलमा दुई सय ४२ रन बनाएका छन् । अर्शदीपले चार खेलमा तीन विकेट लिए । हर्षलले पनि चार खेलमा तीन नै विकेट लिएका छन् । 

–एजेन्सीको सहयोगमा
 

सुझावित समाचार