आइपिएल : पाँच विकेटको जितसँगै मुम्बई शीर्ष स्थानमा

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

साबिक विजेता मुम्बई इन्डियन्स आइतबार राति दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लेको छ । 

अबुधाबीको मैदानमा दिल्लीले पहिलो ब्याटिङ गरी चार विकेटको क्षतिमा एक सय ६२ रनको योगफल बनाएको थियो । स्लो विकेटमा मुम्बईले १९.४ ओभरमा पाँच विकेट गुमाएर एक सय ६६ रन बनायो । मुम्बईलाई अन्तिम ओभरमा सात रन आवश्यकता थियो । 

उत्कृष्ट फर्ममा रहेको दिल्लीमाथिको सानदार जितसँगै मुम्बईले सात खेलबाट १० अंक जोडेको छ । मुम्बईले चालू आइपिएलमा पाँच जित र दुई हारकाे सामना गरेको छ । 

दिल्ली १० अंकका साथ दोस्रो स्थानमा झऱ्याे । एक खेल कम खेलेको कोलकाताले ६ खेलबाट आठ अंक बटुली तेस्रो स्थान मजबुत बनाएको छ । आठ अंकका साथ रोयल्स च्यालेन्जर्स बेंग्लोर चौथो स्थानमा छ । 

आइपिएलको २७औँ खेलमा दिल्लीको सुरुवात निकै कमजोर रह्यो । ओपनर पृथ्वी साउ इनिङको तेस्रो बलमै ट्रेन्ट बोल्टले क्याचआउट गराए । 

त्यसपछि शिखर धवन र अजिन्का राहोनले दोस्रो विकेटका लागि २३ रनको साझेदारी गरे । राहानेले १५ बलमा तीन चौका प्रहार गरी १५ रन नै जोडे । 

मुम्बईको कसिलो बलिङमा दिल्लीका ब्याट्सम्यानले खुलेर रन बनाउन सकेनन् । शिखरले कप्तान श्रेयास इयेरसँग तेस्रो विकेट निमित्त ८५ रनको साझेदारी गर्दै दिल्लीलाई १४.४ ओभरमा १०९–३ को अवस्थामा पुऱ्याए । इयेरले ३३ बलमा पाँच चौका प्रहार गरी ४२ रन जोडे । 

इनिङ्समा धवन नटआउट रहे । उनले ५२ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६९ रनको योगदान दिए । अन्तिम तिर मार्कोस स्टोनिसले आठ बलमा १३ रन तथा एलेक्स क्यारेयले नाै बलमा १४ रन बनाए । मुम्बईका लागि हार्दिक पाण्ड्याले २६ रन खर्चेर दुई विकेट लिएका थिए । 

प्रत्युत्तरमा मुम्बईका लागि क्विन्टन डि कोक तथा सूर्यकुमार यादवले समान ५३–५३ रनको योगदान दिए । यी दुवै ब्याट्सम्यानले दोसो विकेट लागि ४६ रन बनाए । क्विन्टनले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । 

यादवले इषणसँग चौथो विकेट लागि ५३ रन जोड्दै मुम्बईलाई जितनजिक पुऱ्याए । यादवले ३२ बलमा ६ चौका र एक छक्का प्रहार गरे । इषणले १५ बलमा दुई चौका र दुई छक्का ठोकी २८ रन बनाए । अन्तिम किरन पोलार्डले ११ रन तथा हार्दिक पाण्ड्याले १२ रन जोड्दा मुम्बईले दिल्लीमाथि पाँच विकेटको जित निकाल्यो । 

आइपिएलमा क्विन्टनले १२औँ तथा सूर्यकुमारले नवौँ अर्धसतक लगाएका हुन् । यसैगरी कप्तान रोहित शर्माले मुम्बईबाट एक सय ५० खेल पूरा गरेका छन् । यो सफलता प्राप्त गर्ने रोहित मुम्बईका दोस्रो खेलाडी हुन् । यसअघि पोलार्डले एक सय ५५ खेल खेलेका छन् । दिल्लीका शिखर धवनले आइपिएलमा सय छक्का पूरा गरे । 

उनले आइपिएलमा ३८ अर्धसतकीय खेल्न सफल भए । आइपिएलमा बेंल्लोरका विराट कोहली, मुम्बईकै रोहित शर्मा तथा चेन्नईका सुरेश रेनाले ३८–३८ अर्धसतकीय इनिङ्स खेलेका छन् । 

राजस्थानसँग हैदराबादको हार
यसैगरी आइपिएलमै राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पाँच विकेटले हराएको छ । हैदराबादले पहिलो ब्याटिङ गरी चार विकेट गुमाएर एक सय ५८ रनको योगफल बनायो । 

प्रत्युत्तरमा राजस्थानले १९.५ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६३ रन बनाएको थियो । जितसँगै राजस्थान तालिकाको छैटाैँ स्थानमा उक्लेको छ । राजस्थानले सात खेलमा तीन जित निकाली ६ अंक जोड्यो । हैदराबावाद ६ अंकाका साथ पाँचौँ स्थानमा छ । 

हैदराबादको ब्याटिङमा कप्तान डेभिड वार्नरले ३८ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ४८ रनको योगदान दिए । 

त्यसपछि मनीष पाण्डेले ४४ बलमा तीन छक्का र दुई चौकाको सहयोगमा ५४ रन बटुले । केन विलियम्सनले २२ रन तथा प्रियामले १५ रन बनाए । 

प्रत्युत्तरमा राजस्थानको सुरुवात खराब रहे पनि मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । राजस्थानले पहिलो चार विकेट ९.१ ओभरमा ६३ रनभित्र गुमाएको थियो । 

छैटाैँ विकेटका लागि रियान परागले २६ बला दुई चौका र दुई छक्का प्रहार गरी ४२ रन तथा राहुलले २८ बलमा चार चौका र दुई छक्का प्रहार गरी ४५ रनत जोडेपछि राजस्थानको जित सम्भव भयो । 

हैदराबादले पावर प्लेमा तीन ब्याट्सम्यानलाई आउट गरेको थियो । चालू सिजनमा पावर प्लेमा धेरैपटक विपक्षी ब्याट्सम्यानलाई आउट गर्ने हैदराबाद पहिलो टोली बनेको छ । 

हैदराबादले पावर प्लेमै १३ ब्याट्सम्यानलाई पेभेलियनतर्फ फर्काएको छ । हैदराबादका मनीष तथा वार्नरले दोस्रो विकेटका लागि ७३ रन जोडे । मनीषले आइपिएलमा तीन हजार रन पूरा गर्न सफल भएका छन् । 

यो सफलता प्राप्त गर्ने उनी १६औँ खेलाडी हुन् । यसक्रममा उनले एक सय ३७ खेलमा १ सय २७ इनिङ्स खेलेका छन् । उनले आइपिएलमा एक सतक तथा १७ अर्धसतक जोडेका छन् ।

सुझावित समाचार