चीनले नेपाली भूभागमै सामान ल्याउन सुरु गरेको छ । यसअघि रसुवागढी नाकाको मितेरी पुलको बीचमा सामान ल्याई झारिदिने गरेकोमा आइतबारदेखि नेपाली भूभागमै सामान ल्याउन सुरु गरेको हो ।
चीनले आइतबार नेपाली भूभागमै सामग्री ल्याइदिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । ओखर, ऊन, रेडिमेट, इलेक्ट्रोनिक सामान ल्याएको उनले जानकारी दिए । चिनियाँ पाँचवटा गाडीमा आएको सामान नेपाली १० गाडीमा नेपाली कामदारले नै लोड गरेकोसमेत उनले बताए ।
‘१० मिटरबराबर गाडी राख्ने ठाउँलाई एउटा रंगले रेखांकन गरिएको छ भने सामान झार्ने ठाउँमा अर्को रंगले रेखांकन गरिएको छ, त्यसैगरी चिनियाँ गाडी आएर बस्ने ठाउँमा अर्को रंगले रेखांकन गरिएको छ, नेपाली गाडी बस्ने ठाउँ अर्को रंगले रेखांकन गरिएको छ,’ खड्काले भने, ‘चिनियाँ गाडी आएर आफ्नै ठाउँमा बस्छ, नेपाली गाडीमा नेपाली कामदारले लोड गर्नेछन् ।’