प्रचण्ड प्रधानमन्त्री हुँदा व्यक्त विचारको संगालो ‘नयाँ युगको पदचाप’ सार्वजनिक

शनिबार, १७ असोज, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रमुखका रूपमा व्यक्त विचारको संगालो ‘नयाँ युगको पदचाप’ सार्वजनिक भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि बनेको सरकारमा  प्रधानमन्त्रीका रूपमा जिम्मेवारीमा रहँदा व्यक्त विचारलाई अभिलेखीकरण गरी प्रज्ञा स्मृति प्रतिष्ठानले पुस्तक प्रकाशित गरेको हो । 

प्रधानमन्त्रीका रूपमा मुलुकको नेतृत्व गर्दा प्रचण्डले नेपालको आर्थिक, राजनीतिक र सामाजिक समृद्धिका लागि लिएका पहलकदमीका रणनीति र योजनाका फेहरिस्त पुस्तकमा रहेको प्रकाशकले जनाएको छ । 

दुई खण्डमा विभाजित पुस्तकमा प्रचण्ड प्रधानमन्त्री रहँदाको पहिलो कार्यकालका १५ र दोस्रो कार्यकालका ५४ वटा सम्बोधनलाई समेटिएको छ । 

वर्तमान नेपाली राजनीतिलाई बुझन र बुझाउन पनि पुस्तक महत्वपूर्ण सामग्री हुने प्रकाशकको विश्वास छ । 

पुस्तकमा तत्कालीन अवस्थामा प्रचण्ड सहभागी भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैठक, भेला र छलफलका तस्बिरहरू पनि समावेश गरिएको छ । पुस्तकमा ४०४ पृष्ठ रहेका छन् । प्रतिष्ठानले पुस्तकको मूल्य रु. ७५० राखेको छ । 

‘गणतन्त्रको पहिलो दशक’ जस्तै ‘नयाँ युगको पदचाप’लाई पनि पाठकले मन पराउने आशा लिएको प्रतिष्ठानले बताएको छ ।

सुझावित समाचार