अरब सागरको किनारमा बसेको कराँची सहर दुई करोड मानिसको घर हो । जातीय तथा धार्मिक रूपमा विविधतापूर्ण यो महानगर पाकिस्तानको व्यापारिक राजधानी हो । यो एउटै सहरले देशको आधा राजस्व सिर्जना गर्छ । विगत दशकमा कराँचीले साम्प्रदायिक दंगा, राजनीतिक हिंसा भोगेर आएको छ । कराँचीका अपराधीहरू एक समय ग्याङ युद्धमा एक–अर्काविरुद्ध रकेट लन्चर प्रहार गर्थे । सहरको प्रहरी फौज आफैँमा आमजनतामा लोकप्रिय छैन । यहाँका शासक तथा प्रशासक भ्रष्टाचारका लागि कुख्यात छन् । अहिले आएर कराँचीले झन् ठूलो भयानक विपद्को सामना गर्न लागेको छ : जलवायु परिवर्तन ।
प्रत्येक वर्ष वर्षा आउँछ र जान्छ, तर यो झन्–झन् भयानक हुँदै गएको छ । अध्ययनका अनुसार जलवायु परिवर्तनले मनसुन थप कडा बनाएको छ र यसले विस्तारित क्षेत्रलाई प्रभावित बनाइरहेको छ । अगस्ट २७ मा कराँचीमा नौ इन्च वर्षा भयो । यो वर्षा मापन सुरु भएयताकै एक दिनको सबैभन्दा उच्च वर्षा हो । मौसम विज्ञान अधिकारीका अनुसार अगस्टभर १९ इन्च वर्षा भयो । राम्रो ढल प्रणाली नभएको सहरमा यति पानीले ठूलो डुबान निम्त्यायो । त्यसमाथि देशको स्वास्थ्य सेवा पैसा हुनेले मात्र धान्न सक्ने खालको छ । हजारौँ गरिबको घर डुबेर नष्ट भए र सयभन्दा बढी मानिस मारिए ।
एक व्यापारी संघले गरेको हिसाबअनुसार बजार तथा गोदामहरू डुब्दा १५ करोड डलरबराबरको क्षति पुगेको छ । स्थानीय पत्रिकाका अनुसार कराँची एक हप्ता अवरुद्ध हुन सक्छ । समग्र पाकिस्तानी अर्थतन्त्रले दैनिक ४४.९ करोड डलरको क्षति भोग्यो । यसमा अझ अनौपचारिक अर्थतन्त्र समावेश भएको छैन । विश्व बैंकका अनुमानअनुसार सिन्द प्रान्त (जसको राजधानी कराँची हो)ले प्रत्येक वर्ष वातावरणीय क्षति तथा जलवायु परिवर्तनका कारण आफ्नो कुल गार्हस्थ्य उत्पादनको १५ प्रतिशत गुमाउँछ ।
पाकिस्तान जलवायु परिवर्तनका कारण जोखिममा रहेको स्थानका आधारमा विश्वको पाँचौँ स्थानमा पर्छ । सन् १९९८ र सन् २०१८ बीचमा पाकिस्तानले जलवायुसम्बन्धी विपद्मा दश हजार नागरिक गुमायो भने चार अर्ब डलर धनमाल गुमायो । विज्ञका अनुसार विगत दशकमा पाकिस्तानमा तीन करोड मानिसले जलवायु परिवर्तनका कारण ठाउँ सरे ।
पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको हिन्दकुश, हिमालय र काराकोरमका हिमनदी तीव्र गतिमा पग्लिरहेको छ । तापमान वृद्धिको हालको दर जारी रहेमा सन् २१०० सम्म हिमाली भेगका एकतिहाइदेखि दुईतिहाइ हिउँ पग्लिनेछ । यसको परिणाम भयावह हुनेछ । सन् २०५० सम्म तीव्र हिउँ पग्लाइले भूक्षय, बाढी, बाँध भत्कने तथा पहिरो बढाउनेछ । र, हिमनदी पग्लिएर सकिएपछि खडेरी र भोकमरी सुरु हुनेछ ।
पाकिस्तानमा महिलाले पालना गर्नुपर्ने मर्यादाबारे सदा बहस चलिरहेको हुन्छ, तर संघारमा आइसकेको जलवायु परिवर्तनका खतराबारे हल्का पनि ध्यान दिएको देखिँदैन
तापमान वृद्धिले ग्रामीण क्षेत्रमा विपद्माथि विपद् निम्त्याइरहेको छ । यो वर्ष झन्डै ३० वर्षयताकै सबैभन्दा ठूलो सलहको प्रकोप देखियो । यस किराले सम्पूर्ण क्षेत्रको फसललाई नै नष्ट गरिदियो । क्षतिको स्तर यति ठूलो थियो कि सरकारले राष्ट्रिय विपद् घोषणा गर्नुपर्यो । सलहको फौज यत्रो ठूलो थियो कि टाढाबाट हेर्दा गुलाबी तुवाँलोजस्तो देखिन्थ्यो । ठूलो वर्षा र साइक्लोनका कारण संयुक्त अरब इमिरेट्सका मरुभूमिमा सलह ठूलो स्तरमा प्रजनन प्रक्रियाबाट गुज्रिए । अरबी प्रायद्विपबाट ती उडेर दक्षिण एसियासम्म आइपुगे ।
यो जलवायु युद्ध ठूला औद्योगिक महाशक्ति र गरिबबीच छेडिएको छ । नाफाका लागि हाम्रो ग्रहलाई प्रदूषित बनाउने ठूला औद्योगिक महाशक्ति तथा वित्तीय लुटेराको कार्यले सबैभन्दा कम प्रदूषण गराउने गरिब सबैभन्दा बढी जोखिममा परेका छन् । राष्ट्रका रूपमा पनि विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा पाकिस्तानको योगदान एक प्रतिशत पनि छैन । विश्व बैंकका अनुसार विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जन कम गर्न गम्भीर कदम चालिएन भने दक्षिण एसियामा ८० करोड गरिबीको रेखामुनि धकेलिने डर छ ।
विश्व बैंकले कराँचीलाई जलवायुका कारण पृथ्वीकै सबैभन्दा खतरामा रहेको क्षेत्रमध्ये एकका रूपमा पहिचान गरेको छ । आगामी ३० वर्षभित्र दक्षिण एसियाको तापक्रम ३.९ डिग्री फरेनहाइटसम्मले वृद्धि हुने अनुमान छ । कराँची अहिले खराब सडक सञ्जाल, दयनीय शिक्षा सेवा र सीमित बजार पहुँचजस्ता कुरामा संघर्ष गरिरहेको छ । यसको कमजोर सार्वजनिक स्वास्थ्य प्रणालीको अवस्था झनै कमजोर हुनेछ ।
धनीले त जेनेरेटर किन्लान्, पानीट्यांक ल्याउलान् र बिरामी भए महँगा अस्पताल जालान् । पाकिस्तानको वर्तमान सरकारले जलवायु परिवर्तन विषयमा कुरा त गरिरहेको छ । तर, यस विषयमा बहस नै ढिलो गरी सुरु भयो । सन् १९४७ मा पाकिस्तानको ३३ प्रतिशत भूभाग जंगलले ढाकिएको थियो । आज जम्मा चार प्रतिशत भूभाग मात्र वनले ढाकिएको छ । काठतस्करका कारण उत्पन्न यो विनाशले बाढीको समयमा विपद् बढाउन सघाएको छ ।
अल्पसंख्यकले धार्मिक मूल्य उल्लंघन गरेको हल्लाकै आधारमा पाकिस्तानमा तनाव सुरु हुन्छ । पाकिस्तानमा महिलाले पालना गर्नुपर्ने मर्यादाबारे सदा बहस चलिरहेको हुन्छ, तर संघारमा आइसकेको जलवायु परिवर्तनका खतराबारे थोरै पनि ध्यान दिएको देखिँदैन । बढ्दो तापक्रमजस्तै कराँचीको घनघोर वर्षा पनि बढ्दो जलवायु युद्धको परिणाम हो । तर, हामी सहरको मृत्युमा मुकदर्शक मात्र हुनुपरेको छ । जब गाउँ डुब्दै थियो, तब थोरैले मात्र ध्यान दियौँ । तर, पृथ्वी यसरी एकपछि अर्को डढेलोमार्फत जल्दै छ । यसरी तापक्रम बढ्दै जाने हो भने एक दिन कराँची समुद्रभित्र विलिन हुनेछ ।
पाकिस्तानी पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी नातिनी फतिमा भुट्टो पाकिस्तानी निबन्धकार तथा उपन्यासकार हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य