दोलखाको मेलुङ गाउँपालिकाले तामाकोसी नदी बगर लैजान सात किलोमिटर सडकको ट्रयाक खन्दा एक करोड रुपैयाँ खर्च गरेको छ ।
डोजर प्रयोग गरेर ट्रयाक मात्र खन्दा यति ठूलो रकम खर्च हुनुलाई प्राविधिकहरूले अस्वाभाविक भनेका छन् । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिको महत्वाकांक्षी आयोजना भन्दै बर्सेनि करोडौँ बजेट विनियोजन गरेर काम अघि बढाउँदा पनि सात किलोमिटर सडकको ट्रयाक खुलाउन मात्रै चार वर्ष समय लागेको स्थानीयहरूले बताए ।
मालुखोलादेखि चरंगेसम्मको १३ किलोमिटर सडकमध्ये यसअघि नै डिभिजन सडक कार्यालयले ६ किलोमिटरमा ट्रयाक खुलाइसकेको थियो । मालुखोलाबाट घ्याङसुकाठोकरको कल्लेरीसम्म तयार भइसकेको सडकबाट कल्लेरीदेखि चरंगेसम्म सात किलोमिटर ट्रयाग खुलाउँदा पटक–पटक गरी एक करोड बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।
मेलुङ गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ मा ३० लाख, ०७५/७६ मा ८० लाख र ०७६/७७ मा प्रदेश सरकारले ७० लाख गरी उक्त सडकमा हालसम्म एक करोड ८० लाख बजेट विनियोजन भएको देखिन्छ ।
गाउँपालिकाका इन्जिनियर राजकुमार श्रेष्ठका अनुसार आ.व. ०७५/७६ मा विनियोजित ८० लाख बजेट भने काम गर्न नसकेर फ्रिज भएको थियो । बाँकी दुई आर्थिक वर्षको गरी एक करोड बजेट उक्त सडकको ट्रयाक खुलाउन मात्रै खर्च भएको मेलुङ गाउँपालिकाले जनाएको छ ।
अहिले उक्त सडकको अवस्था हेर्दा दयनीय मात्रै होइन सरकारी बजेटको कसरी दुरुपयोग हुन्छ भन्ने नमुनाका रूपमा उक्त सडकलाई हेर्नुपर्ने मेलुङका स्थानीय युवा शुकदेव भण्डारी बताउँछन् । उनका अनुसार दुर्गामी लक्ष्यविना अध्ययन नै नगरी उक्त सडकमा गरिएको लगानीले मेलुङवासीलाई कुनै पनि लाभ हुनेछैन ।
गाउँपालिकाका तीनवटा वडाहरू भेड्पु, घ्याङसुकाठोकर र पवटीको तल्लो भाग जो अत्यन्तै उर्वर र खेतीयोग्य जमिन रहेको क्षेत्र भए पनि किसानलाई कुनै किसिमको क्षतिपूर्तिसमेत उपलब्ध नगराई मनलागी सडक खनिनुले कृषकको भावनामा समेत चोटपुगेको स्थानीय रामकुमार कार्कीले बताए ।
उक्त सडक निर्माण गर्दा भेड्पुको बगुवाबेसी, घ्याङको ठूलीबेसी र पवटीको खेतीयोग्य जमिन प्रयोग गरिएको छ । जसका कारण बर्सेनि झर्ने पहिरोले क्षति गराएको र किसान चिन्तित हुने गरेको पीडितहरूले जनाएका छन् ।
मालुखोला–गोलेगाउँ–धनुके सडकसमेत अस्तव्यस्त
मालुखोला बजारबाट गोलेगाउँ हुँदै गाउँपालिका केन्द्र जोडिने मालुखोला गोलेगाउँ धनुके सडकसमेत अस्तव्यस्त छ । लामो समयदेखि सञ्चालनमा आएको उक्त सडकमा जनप्रतिनिधि आएदेखि बर्सेनि बजेट विनियोजन हुन्छ, तर प्रभावकारी काम नहुँदा सो सडकमा दुई वर्षदेखि सवारीसाधनसमेत चल्न छोडेको भेड्पुका मोहनविक्रम कार्कीले जानकारी दिए ।
उनका अनुसार सुरुसुरुमा रोल्वालिङ यातायातले दुई वर्ष अघिसम्म नियमित सेवा दिइरहे पनि बाटोकै खराबीका कारण दुई वर्षदेखि उक्त सडकमा सार्वजनिक सवारीसाधनहरू चल्न सकेका छैनन् । हिउँदको समयमा दुःखले बोलेरो जिपहरू चले पनि अरूवेला भने केही साधन पनि चल्ने अवस्था छैन । तर, सोही सडक स्तरोन्नति तथा निर्माणका लागि भन्दै मेलुङ गाउँपालिकाले बर्सेनि लाखौँ बजेट विनियोजन गरी काम गरिरहेको छ ।
सूचना अधिकारी पौडेलका अनुसार उक्त सडकमा हालसम्म एक करोड ५३ लाख रुपैयाँ बजेट खर्च भइसकेको छ । स्थानीयहरूले कामको प्रगति शून्य, तर करोडौँ बजेट सकिएको भन्दै छानबिनका संवैधानिक निकायको ध्यानाकर्षण गराइदिन सञ्चारकर्मीहरूसँग अनुरोधसमेत गरेका छन् ।
नदीजन्य सामग्री उत्खननका लागि खनिएको हो : गाउँपालिका
मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले पालिकाको आन्तरिक आम्दानी कमजोर रहेको र नदीजन्य सामग्री उत्खनन गर्दा राजस्व संकलन हुने भएकाले उक्त सडकलाई प्राथमिकताका आधारमा निर्माण गरिएको बताए । उनले आन्तरिक समस्यालगायत केही प्राविधिक कारणले सडक निर्माणमा ढिलाइ भएको स्विकार्दै छिट्टै निर्माण सम्पन्न हुने गरी गाउँपालिका अघि बढिरहेको जनाएका छन् ।
वडाध्यक्षसमेत रहेका प्रवक्ता थोकरले चालू आर्थिक वर्षका लागि पनि सो सडकका लागि एक करोड बजेट विनियोजन भएकाले प्रभावकारी काम हुने जनाएका छन् । प्रवक्ता थोकरले करिडोर सडक उत्तर–दक्षिण लोकमार्गलाई समेत लक्षित गरी निर्माण गरिएको जनाएका छन् ।
उनले मालुखोला–गोलेगाउँ सडक पनि सुरुमा विनाअध्ययन निर्माण गरिएको र बर्सेनि मर्मत गर्दा खर्च धेरै हुने गरेको बताउँदै चालू आर्थिक वर्षबाट उक्त सडकलाई व्यवस्थित बनाउनेमा गाउँपालिका क्रियाशील रहेको जानकारी दिएका छन् ।