प्रहरी हिरासतमा युवकको मृत्युप्रति मानव अधिकार आयोगको चासो, छानबिन समिति गठन

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका एक युवकको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो दिएको छ । आयोगको टोलीले शनिबार थुनुवा कक्षको निरीक्षण गर्दै घटनाबारे जिल्ला प्रहरी प्रमुखसँग जानकारी लिएको छ ।

चोरी आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका– ५ का १९ वर्षीय रोशन विकको शव शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेको थियो । मोबाइल चोरीको आरोपमा उनलाई प्रहरीले २२ भदौमा पक्राउ गरेको थियो । प्रहरी कार्यालयले विकले शौचालयमा झुन्डिएर आत्महत्या गरेको दाबी गर्दै आएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले शौचालयमा झुन्डिएको अवस्थामा शव फेला परेको बताए ।

मृतकका आफन्तले भने उनको मृत्यु प्रहरीको कुटपिटबाट भएको आरोप लगाएका छन् । मुख र नाकमा चोटपटक देखिनुका साथै रगत आएकोले कुटपिटबाट मृत्यु भएको आफन्तको भनाइ छ । मृतकका बाबु टेक विकले प्रहरीको कुटाइबाट छोराको मृत्यु भएको बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन 
घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा चार सदस्यीय समिति गठन भएको छ । प्रदेश प्रहरी कार्यालयले समितिलाई सात दिनको म्याद दिइएको जनाएको छ । समिति गठन भएपछि आफन्तले शव बुझेर दाहसंस्कार गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालय धनगढीका प्रमुख झंकर रावलले घटनाको विस्तृत अध्ययन गरिने बताए । प्रहरी हिरासतमा रहेका मान्छेको मृत्यु हुनुले हिरासतको सुरक्षा बन्दोबस्त कमजोर रहेको देखिएको उनले बताएका छन् । रावल नेतृत्वको आयोगको टोलीले मृतक विकसँगै थुनामा रहेका अर्का व्यक्तिसँग पनि घटनाबारे बुझेको छ । घटनाको गम्भीरताका साथ अनुसन्धानका लागि आयोगको टोलीले प्रहरीको ध्यानाकर्षण गराएको छ । 

प्रहरी हिरासतमा युवकको मृत्यु भएको घटना बाहिरिएपछि आफन्तले शुक्रबार दिनभर जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए । 

सुझावित समाचार