वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र प्रभावित भएको छ । आजको बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्दसत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले बताए । 

बिहान साढे १० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्रलाई खाजा समयपछि गर्ने भनी साढे ११ बजेदेखि सुरु गर्ने तयारी भएको थियो । तर, अचानक हावाहुरीसहितको ठुलो वर्षा भएसँगै प्रभावित भएको छ । खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू आउन सकिरहेका छैनन् । 

कांग्रेसले बन्दसत्र खुलामञ्चमा गरिरहेको छ । भृकुटीमण्डपमा खाना स्थल र राष्ट्रिय सभागृहमा निर्वाचन समितिले निर्वाचनको कम गरिरहेको छ । भोलि बिहान मतदान हुँदै छ ।  

कांग्रेसको बन्दसत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने
बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ। खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्दसत्रमा प्रवेश खुला गरिएको  प्रवक्ता देवराज चालिसेले बताए । उनका  अनुसार यसअघि विशेष महाधिवेशनमा पनि बन्दसत्र सबैका लागि खुला गरिएको थियो । 

बन्दसत्रको लाइभ नेपाली कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण गर्ने उनले जानकारी दिए। साथै अन्य मिडियाहरूले समेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पााउनेछन् । 

बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ।

बन्दसत्रमा सोमबारदेखि नै ती प्रस्ताव तथा प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन्। छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायतका विषयमा सुझाव र धारणा राखेका छन्।

कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार छलफलमा सातै प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका छन्।

उनका अनुसार बिहान साढे १० बजेदेखि बन्द सत्र पुनः सञ्चालन हुने भए पनि केही ढिलाइ हुन सक्नेछ। बाँकी रहेका धारणा तथा सुझावलाई समेट्दै प्रस्ताव र प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।

 

सुझावित समाचार