सभापतिको उम्मेदवारी फिर्ता गर्ने राठाेरको घोषणा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका वेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताए।
उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए। राठोरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहनेसमेत बताएका छन्।
पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा हानेको छ।
जबरा र उनका नजिकका व्यक्तिहरूको घरमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
यसअघि प्रहरीले जबरालाई मध्यरातमा नियन्त्रणमा लिएर भाेलिपल्ट दिउँसाे परिवारकाे जिम्मा लगाएकाे थियो। प्रहरीले उनीमाथि थ्रेट भएकाले सुरक्षाका लागि लगिएको बताए पनि सरकारविरोधी गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ गरेको बुझिएको छ।
कांग्रेस महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी सुरु गर्न लागिएको जानकारी दिए।
खड्काका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो।
कांग्रेसमा गुट समाप्त भएको सभापति थापाको दाबी
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गरेका छन्। १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र समापन कार्यक्रममा थापाले कोइराला, पौडेललगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे।
‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै गुट सकियो,’ थापाले भने। उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने बताए। पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा उनको जोड छ।
सभापति थापाले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबिचको बहसमा केन्द्रित गर्ने बताए।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी बढुवा, अध्यादेश सिफारिसलगायत विभिन्न निर्णयहरू गरेको छ। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले ६ निर्णयहरू सार्वजनिक गरेका हुन्।
हेर्नुस् सार्वजनिक गरिएका निर्णयहरू :
१. राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने,
२. पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने,
३. भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपतसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलगायतका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने,
४. सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने,
५. नेपाल प्रशासन सेवा समूहीकरणतर्फका राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव चक्रबहादुर बुढालाई बढुवा गर्ने,
६. नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने ।
भूमि, वन र विपतसम्बन्धी ऐन संशोधन गर्ने तीन अध्यादेश जारी गर्न सिफारिस
सरकारले विभिन्न तीनवटा ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले भूमि, वन र विपतसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न सिफारिस गरेको हो।
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपतसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने,’ बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने।
बालविवाह न्यूनीकरणका लागि अनेक प्रयास भए पनि बर्दियामा बालविवाह नरोकिएको पाइएको छ। कानुनले २० वर्षमुनिको विवाहलाई बालविवाह भनी प्रस्ट व्याख्या गरेको छ। स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक हेर्दा बालविवाह बढेको देखिन्छ। २० वर्ष नपुग्दै सुत्केरी हुने, गर्भवती जाँच गर्ने, परिवार नियोजनको साधन प्रयोग गर्ने र गर्भपतन गर्नेको संख्या हेर्दा बालिकाको संख्या बढेसँगै बर्दियामा बालविवाह बढेको देखिन्छ।
गाउँघरमा अझै पनि बालविवाह भइरहेको छ। कानुनमा २० वर्ष पूरा भएपछि मात्र विवाह दर्ता हुने कानुनी प्रावधान भएकोले स्थानीय तहको अभिलेखमा बालविवाह भएको देखिँदैन। तर, सुरक्षित मातृत्व सेवा लिन आउने बालिकाको संख्या हेर्दा बालविवाह भएको देखिन्छ। कानुनी प्रावधानले स्थानीय तहको अभिलेख बालविवाह भएको देखिँदैन। तर, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा लिन आउने बालिकाको संख्या हेर्दा बालविवाह भइरहेको देखिन्छ।
भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्ने संस्थालाई प्रस्ताव पेस गर्न आह्वान
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न इच्छुक संघसंस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहमा बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न इच्छुक सम्बन्धित संघसंस्थालाई प्रस्ताव पेस गर्न आग्रह गरेको हो।
प्राधिकरणका अनुसार ०७९ भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढीबाट तीन जिल्लाका विभिन्न स्थानीय तह प्रभावित भएका थिए। प्रभावित परिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डअनुसार अस्थायी आवास निर्माण गर्नुपर्नेछ।
जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड लागू
सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक सेवा महाशाखाले तयार गरेको मापदण्डमा जलनको प्रारम्भिक उपचारदेखि विशेषज्ञ उपचार, रेफरल, पुनर्स्थापना तथा स्वास्थ्यकर्मीको तालिमसम्मका विषय समेटिएका छन्।
नेप्सेमा गिरावट, कारोबार रकममा सामान्य सुधार
बुधबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर दुई हजार ५७२.३४ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६३ अंकले घटेको छ।
आज कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। मंगलबार तीन अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँको कारोबार भएकोमा बुधबार तीन अर्ब ७४ करोड ८० लाख ८० हजारको सेयर खरिद–बिक्री भयो।
समूहगत सूचकतर्फ बैंकिङ समूह ०.०७ प्रतिशतले वृद्धि हुँदा बाँकी १२ वटै समूहका सूचक ओरालो लागेका छन्। व्यापार समूह १.३८ प्रतिशतले घट्दा बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ।
घटेको बजारमा सर्वाधिक कमाउनेमा घलेम्दी हाइड्रो र एनआइसी एसिया ब्यालेन्स्ड फन्डका लगानीकर्ता छन्। यी धितोपत्र पाँच प्रतिशतभन्दा धेरैले बढ्दा ग्लोबल आइएमई समुन्नत योजना– २ का लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै गुमाए।