काठमाडाैं । कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन् । शर्माको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
१४औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका शर्मा विशेष महाधिवेशनबाट उपसभापति चयन भएका थिए । १५औँ महाधिवेशनमा उनीविरुद्ध कसैले पनि उम्मेदवारी दिएनन् ।
महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्विरोध भएकी छिन् । महिला उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको हो । १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य रहेकी भुसाल देउवा पक्ष परित्याग गर्दै विशेष महाधिवेशनमा सहभागी भएर उपसभापति बनेकी थिइन् ।
खुला उपसभापतिमा नौ दाबेदार : खुला उपसभापति दुई पदका लागि नौजनाको उम्मेदवारी परेको छ । डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मीनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले खुला उपसभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् । पाण्डे, गिरी र भट्टराई देउवा पक्ष त्यागेर महाधिवेशनअघि संस्थापनतिर लागेका हुन् भने गुरुङ, रिजाल र यादव डा. शेखर कोइराला पक्ष त्यागेर महाधिवेशनमा सहभागी भएका हुन् ।
समावेशी उपसभापतिमा पाँच दाबेदार : समावेशी उपसभापति एक पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गरेका छन् । जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दर्ता गराएका हुन् । गुरुङ देउवा र कर्ण कोइराला पक्ष छाडेर महाधिवेशनमा सहभागी भएका हुन् ।
खुला महामन्त्रीमा आठ दाबेदार : खुला महामन्त्री दुई पदका लागि आठजनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायको उम्मेदवारी दर्ता भएका छन् । पौडेल र घिमिरे विशेष महाधिवेशनबाट महामन्त्री चयन भएका हुन् भने महर देउवा पक्ष र शर्मा कोइराला पक्ष छाडेर महाधिवेशनमा सहभागी भएका हुन् ।
महिला महामन्त्रीमा तीन दाबेदार : महिला महामन्त्री एक पदका लागि तीनजनाले उम्मेदवारी दर्ता गरेका छन् । डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दर्ता गरेका हुन् । उपाध्याय देउवा पक्ष छाडेर महाधिवेशनमा सहभागी भएकी हुन् ।
सहमहामन्त्रीमा ३२ दाबेदार : सहमहामन्त्रीमा ३२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । खुला दुईसहित नौ क्लस्टरबाट एक–एकजना सहमहामन्त्रीमा निर्वाचित हुनेछन् । खुलातर्फ अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल, डिल्लीराम सुवेदी, रमेश धमला उम्मेदवार छन् ।
महिलातर्फ : प्रतिमा गौतम र नानु बस्तोला, आदिवासी जनजातितर्फ : बहादुरसिंह लामा र तारामान गुरुङ,
दलिततर्फ : प्रकाश रसाइली, नरेन्द्र पासवान, लक्ष्मी परियार र मानबहादुर नेपाली सहमहामन्त्रीका उम्मेदवार छन् ।
यस्तै, मधेशीतर्फ महेन्द्र यादव, अजय चैेरासिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप शाह, रामपल्टन साह, मनीष मिश्र र मुक्ताकुमारी यादव,
खसआर्यतर्फ : रामहरि खतिवडा, मनोजमणि आचार्य, जगदीशनरसिंह केसी र शुभराम बस्नेत, थारूमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्र चौधरी,
मुस्लिमतर्फ : फिर्दोष आलम, अब्दुल सत्तार र अहतर कमल मुसालमान, पिछडिएको क्षेत्रमा कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर शाही र रामबहादुर विष्ट तथा अल्पसंख्यक/अपांगतातर्फ नगेन्द्र कुमाल, योगेश गौचन र आङगेलु शेर्पा सहमहामन्त्रीका उम्मेदवार बनेका छन् ।
बन्दसत्र खुलामञ्चमा, चहलपहल सभागृहमा
बन्दसत्र जारी रहँदै उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरिएपछि महाधिवेशन प्रतिनिधिहरूको चहलपहल खुलामञ्चभन्दा राष्ट्रिय सभागृहमा देखिएको थियो । मंगलबारको बन्दसत्रमा सभापतिसहित पाँच नेताका प्रतिवेदनमाथि छलफल थियो । तर, बिहान १० बजेदेखि नै सभागृहमा उम्मेदवारी दर्ताको फाराम वितरण गरिन थालेपछि प्रतिनिधिहरू त्यतै ओइरिए । उम्मेदवारी दर्ता गर्ने अन्तिम समय साँझ ७ बजेसम्म सभागृह खचाखच थियो ।
प्रतिस्पर्धा खुला, प्यानल निषेध
कांग्रेसमा प्रतिस्पर्धा गर्न खुला भए पनि प्यानल बनाउन भने निषेध गरिएको छ । विगतमा गुट–उपगुटले कांग्रेस बिग्रिएको निष्कर्षसहित यसपटक प्यानल नबनाउने निर्णयमा पुगेको उपसभापति पुष्पा भुसालले बताइन् । ‘लोकतान्त्रिक पार्टी कांग्रेसमा स्वच्छ प्रतिस्पर्धा हुन्छ । विगतमा जस्तो प्यानल यसपटक बन्दैन,’ उनले भनिन् । उम्मेदवारहरूले विगतमा जस्तो प्यानलका लागि भोट मागेका छैनन् । उनीहरू व्यक्तिगत रूपमा भोट माग्दै हिँडेका छन् ।