कोरोना लाग्दैमा कोही मरिहाल्ने होइन रहेछ

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

संक्रमणकाल

 म बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाकी हुँ । १४ साउनमा मलाई ज्वरो आयो । सिटामोल खाएपछि ज्वरो निको भए पनि जिउ दुखेको महसुस भइरह्यो । १५ गते सास फेर्न अलिक गाह्रो भयो । त्यसपछि म स्थानीय स्वास्थ्यचौकीमा गएँ, संक्रमणको जोखिम बढेको भन्दै मलाई स्वास्थ्यचौकी छिर्न दिइएन । 

म सिमरामा स्वाब संकलन भइरहेको ठाउँमा पुगेँ । तर, पिसिआर जाँच गराउन तीन–चार दिनअगाडि नै नाम लेखाउनुपर्ने नियम रहेछ । मेरो स्वाब संकलन भएन । वडा कार्यालयबाट सिफारिस लिएर आएपछि मात्र स्वाब संकलन गर्छौं भने । म दौडिँदै वडा कार्यालय पुगेर सिफारिस लिएर आएँ । तर, सिफरिस लिएर आउँदा पनि मेरो स्वाब संकलन भएन । यतिन्जेलसम्म मलाई सास फेर्न निकै गाह्रो भइसकेको थियो । 

यसबारे मैले स्थानीयस्तरका केही नेता र पत्रकारलाई हारगुहार गरेपछि मात्र मेरो स्वाब संकलन गरियो । १६ गते स्वाब संकलन भएपछि म घर आएँ । मेरो रिपोर्ट आउनुअगाडि नै गाउँमा मलाई कोरोना संक्रमण देखिएको हल्ला चलिसकेको थियो । गाउँका मान्छे मेरो परिवारसँग तर्किन्थे । बजारतिर मेरो गाउँका मान्छेसँग अरू मानिस तर्किन्थे । रिपोर्ट आउँदा मलाई कुनै समस्या थिएन । मलाई लिन भनेर एम्बुलेन्स आयो । घरैमा एम्बुलेन्स आएपछि भने डर लाग्यो । एम्बुलेन्सचालकले लगाएको लुगा र एम्बुलेन्सभित्र संक्रमितलाई बसाउन छुट्याइएको ठाउँ देखेपछि त झन् धेरै डर लागेको थियो । त्यो दृश्य नै भयंकर डरलाग्दो लागेको थियो । 

एम्बुलेन्समा बसिसकेपछि मलाई लागेको थियो, अब म फर्किंदिन । तर, जसै म कलैयाको आइसोलेसनमा पुगेँ, मेरो डर हरायो । मेरो कोठामा सशस्त्र प्रहरीको एकजना महिला हुनुहुन्थ्यो । त्यहाँको आइसोलेसनमा ४० जनाजति संक्रमित थिए । सबै संक्रमित तन्दुरुस्त थिए । सामान्य अवस्थाका संक्रमित देखेपछि मलाई म पनि निको हुन्छु, मलाई पनि केही हुँदैन भन्ने विश्वास जाग्यो ।

मेरो पूरै परिवारलाई संक्रमण देखिँदा पनि आफन्त, छिमेकी, साथीभाइले निकै सहयोग गर्नुभयो । हामीलाई संक्रमणबाट मुक्त पार्न हौसला प्रदान गर्नुभयो ।

यता, म आइसोलेसनमा गएकै दिन मेरी आमा सिकिस्त बिरामी पर्नुभयो । आमालाई पनि संक्रमण देखिएको शंका गरियो । तर, स्वाब संकलनमा भने निकै ढिला गरियो । मलाई संक्रमण देखिएको चार दिनपछि मेरो परिवारको स्वाब संकलन भयो । मलाई संक्रमण देखिएपछि मेरो परिवार घरबाट बाहिर निस्किएन । परिवारका एकजनाबाहेक सबैमा संक्रमण देखियो । मेरो परिवारका सदस्यहरू भने घरमै आइसोलेट भएर बसे । घरमा आवश्यक खाद्यान्न, ग्यास, औषधिजस्ता अत्यावश्यक वस्तु छिमेकीले घरको ढोकासम्मै ल्याइदिए । दोस्रोपटकको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएपछि मैले फेरि एक हप्ता आइसोलेसनमा बस्नुपर्ने भयो । 

आइसोलेसनमा सबै कुरा सरकारी तवरबाटै गरिने भएकाले होला खानाको गुणस्तर राम्रो थिएन । अरू व्यवस्था भने ठीकै थियो । स्वास्थ्यकर्मीहरूसँग नियमित सम्पर्कमा रहन्थेँ । त्यहाँ रहेका अरू संक्रमितसँग कुराकानी हुन्थ्यो । हामी सबै एक–अर्काको हौसला बढाउने कुरा गथ्र्यौं । मेरो पूरै परिवारलाई संक्रमण देखिँदा पनि आफन्त, छिमेकी, साथीभाइले निकै सहयोग गर्नुभयो । हामीलाई संक्रमणबाट मुक्त पार्न हौसला प्रदान गर्नुभयो । ७ भदौमा संक्रमणमुक्त भएर म घर आएँ । घर आउँदा पनि घरमा आमा, बुबा र दाइ भने संक्रमणमुक्त भइसक्नुभएको थिएन । 

अहिले हाम्रो पूरै परिवार संक्रमणमुक्त भएको छ । हाम्रो परिवारका कसैलाई पनि कडा लक्षण देखिएन । सबैजना कुनै गम्भीर स्वास्थ्य असरविना संक्रमण हुँदा अचम्मै खुसी लागेको छ । तर, अझै पनि कतिपय मानिस हामीसँग डराउँछन्, जुन स्वाभाविक पनि हो । अहिले मानिसहरू ज्यादै डराएका समाचारहरू आइरहेका छन् । संक्रमण निको भएको र परिवारै संक्रमित भएको व्यक्तिका रूपमा मेरो अनुभव त्यस्तो भयावह रहेन । कोरोनाबारे जे जस्ता हल्ला छन्, ती सबै सही रहेनछन् । कोरोना लाग्दैमा कोही मरिहाल्ने, सबै कुरा सकिइहाल्ने होइन रहेछ । नडराउनु होला, तर संयमित, सावधान र सजग हुन भने आवश्यक छ । 

(सिमराकी थापा संक्रमण निको भएकी व्यक्ति हुन्)
 

सुझावित समाचार