जंगली हात्तीको आक्रमणबाट गोठालो गएका वृद्धको मृत्यु

सोमबार, ३० कार्तिक, २०८३
डिजिटल संस्करण

लहान/ गाउँनजिकै रहेको सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परेर गोठालो गएका व्यक्तिको मृत्यु भएको छ।

सप्तरीको सुरुंगा नगरपालिका– ४, वीरनगर घर भएका करिब ७२ वर्षीय गोपीलाल चौधरीको आइतबार साँझ गाउँनजिकै रहेको बिर्धना सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कडरबोनाका अनुसार वस्तुभाउ चराएर घर फर्किने तर्खर गर्दागर्दै हात्तीको आक्रमणमा परेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

हात्तीको आक्रमणमा मृत्यु भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनास्थलको मुचुल्का उठाएर लहानस्थित रामकुमार-उमाप्रसाद प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी शव सम्बन्धित परिवारलाई जिम्मा लगाएको कडरबोना प्रहरी प्रमुख प्रहरी निरीक्षक श्याममणि पोखरेलले जानकारी दिए।

सुरुंगा नगरपालिको उत्तरी क्षेत्रमा शनिबारदेखि नै करिब दुई दर्जनको संख्यामा जंगली हात्तीको समूह देखिएकाले सर्वसाधारणलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

सुझावित समाचार