भेरीमा पौडी खेल्ने क्रममा बगेर एकजना बेपत्ता

सोमबार, ३० कार्तिक, २०८३
डिजिटल संस्करण

जाजरकोट । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर एक पुरुष बेपत्ता भएका छन्। भेरी नगरपालिका– ३, पिपलडाँडाका ४३ वर्षीय बबी शाह भेरी– १, छोटेबगरस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार सोमबार दिउँसो करिब १२ बजे शाह साथीहरूसँग पिकनिक खान छोटेबगर पुगेका थिए। सोही क्रममा नदीमा पौडी खेल्न गएका उनी बगेर बेपत्ता भएका थिए। उनीसँगै पिकनिक गएका डिल्ली रावलले दिउँसो १ बजे प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए।

घटनाको जानकारीलगत्तै इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्रबहादुर रानाको कमान्डमा ६ जनाको टोली घटनास्थल पुगेर खोजीमा जुटेको छ। बेपत्ता शाहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक विवेक रसाइलीको कमान्डमा आठजना, अस्थायी प्रहरी पोस्ट रावतगाउँबाट दुईजना र सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर जाजरकोटबाट सातजनाको टोली परिचालन गरिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भेरी नदीआसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय रिम्नाबाट करिब दुई किलोमिटर दक्षिण र जिल्ला प्रहरी कार्यालयबाट करिब १४ किलोमिटर पूर्वमा पर्छ।

सुझावित समाचार