धनगढी / बझाङको बुंगलमा अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भीरमा खसेको उक्त अटोरिक्सामा सवार एक बालक बेपत्ता भएको खबर आएको छन् ।
स्थानीय हिन्नेगडा बजार जाँदै गरेको सु.प.प्र.०१ ००१ ह ७९९८ नम्बरको अटोरिक्सा बुंगल नगरपालिका–१०, टुमेडामा बिहान करिब साढे १० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर स्थानीय करिब ६ वर्षीया डल्ली महरा, १६ वर्षीया तारा महरा र ४० वर्षीया राजमती महराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक बिष्टले जानकारी दिएका छन् ।
अटो रिक्सामा सवार एक बालक बेपत्ता भएको खबर आए पनि उनको नामथर खुल्न नसकेको प्रहरी निरीक्षक बिष्टले बताए । अटोरिक्सा भीरबाट करिब नौ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
अटोमा पाँच/छ जना सवार रहेको जानकारी आएको तथा चालक र अन्य यात्रुबारे जानकारी पाउन नसकिएको प्रहरी निरीक्षक बिष्टले बताए । उनका अनुसार ब्रेक फेल भएर अटोरिक्सा भीरमा खसेको प्रारम्भीक जानकारी छ ।
घटनास्थल स्थानीय प्रहरी पोष्टबाट करिब एक घण्टाको पैदल दुरीमा रहेको बताइएको छ । दुर्घटना भएको क्षेत्रमा राम्रोसँग फोन सम्पर्क हुन नसकेकाले दुर्घटनाको विस्तृत विवरण प्राप्त गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय बुंगलबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावल नेतृत्वको टोली घटनास्थलमा खटिएको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको नेतृत्वमा सात जनाको टोली घटनास्थलतर्फ पठाइएको छ ।