सर्वोच्चमा सिफारिस चार न्यायाधीशविरुद्ध २८ उजुरी

आज उजुरीकर्तासँग छलफल, त्यसपछि न्यायाधीशसँग

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- सर्वोच्च अदालतमा सिफारिस चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा २८ उजुरी परेको छ । आज शुक्रबारदेखि उनीहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै छ ।  

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार उजुरीकर्तालाई समेत बोलाएर छलफल गरी त्यस विषयमा निर्णय लिइनेछ । सबैभन्दा धेरै उजुरी जनक पाण्डेविरुद्ध परेको छ । उनीविरुद्ध १०, गोकर्ण डाँगीविरुद्ध सात, चन्द्रबहादुर सारूविरुद्ध ६ र डा. रत्नबहादुर बागचन्दविरुद्ध पाँच उजुरी परेका छन् ।

शुक्रबार समितिले सुरुमा उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि बागचन्द र सारूसँग सुरुमा सुनुवाइ गर्ने कार्यतालिका समितिको छ । त्यस्तै, शनिबार प्रस्तावित न्यायाधीश जनक पाण्डे र गोकर्ण डाँगीसँग सुनुवाइ गर्ने र आवश्यक निर्णय गरिने समितिका सभापति श्रेष्ठले बताए ।

प्रस्तावित चारै न्यायाधीश हाल उच्च अदालतमा कार्यरत छन् । उनीहरूका फैसलासँग जोडेर धेरै उजुरी परेका छन् । पाँचजनाले चारैजना न्यायाधीशविरुद्ध उजुरी गरेका छन् ।

प्रस्तावित न्यायाधीशकी श्रीमतीविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा विचाराधीन 
प्रस्तावित न्यायाधीशमध्ये जनक पाण्डेविरुद्ध धेरै उजुरी परेका छन् भने उनीमाथि अर्को नैतिक संकट पनि छ । श्रीमतीविरुद्धकै मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

यस विषयमा पनि समितिमा उजुरी परेको छ । दमकस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी अनियमितता गरेकोसम्बन्धी भ्रष्टाचार मुद्दामा उनकी श्रीमती माया पुरी पाण्डेय पनि प्रतिवादी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनको नाममा रहेको जग्गा जफत गर्ने निर्णय गरी उनलाई भने सफाइ दिएको थियो ।

सो फैसलामा चित्त नबुझी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन गरेको छ । त्यस्तै, आरोपित पक्षले पनि पुनरावेदन गरेको छ ।

यसरी श्रीमतीकै मुद्दा सर्वोच्चमा रहेको वेला पाण्डे सर्वोच्चमा नियुक्त हुँदा स्वार्थको द्वन्द्व हुन सक्ने कतिपयको चिन्ता छ । सो मुद्दाको टुंगो नलागेसम्म उनको नियुक्ति प्रक्रिया ‘होल्ड’मा राख्दा राम्रो हुने सर्वोच्चकै एक अधिकारी बताउँछन् । 

सुझावित समाचार