दाङ। दाङको लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगर्ने चारवटा ठेक्काका ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।
पटक–पटक म्याद थप गर्नुका साथै लिखित तथा मौखिक रूपमा ताकेता गर्दा पनि निर्माण कार्य सम्पन्न नगरेपछि आयोजनाले ठेक्का सम्झौता रद्द गरी सम्बन्धित कम्पनीको कार्यसम्पादन जमानतसमेत जफत गरेको जनाएको छ।
बबई र राप्ती नदी क्षेत्रका विभिन्न स्थानमा तटबन्ध निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरूले सम्झौताअनुसार काम सम्पन्न नगरेपछि यस्तो कारबाही गरिएको हो।
आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार सामाखुसी, काठमाडौंस्थित वाइबा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको बडहरास्थित तटबन्ध तथा लन्चिङ एप्रोन निर्माणको काम रद्द गरिएको छ।
त्यसैगरी सूर्य–वाइबा कन्स्ट्रक्सन जेभीले ठेक्का पाएको बबई नदीअन्तर्गत उराहरी र गोल्टाकुरी खण्डमा १२ करोड १४ लाख ५० हजार रुपैयाँ लागतको तटबन्ध निर्माण तथा बेला–कालीपारुवाको तटबन्ध निर्माणको ठेक्का पनि रद्द गरिएको छ।
त्यस्तै, गुल्मीस्थित तारा लक्ष्मी रममता मञ्जु जेभीले ठेक्का पाएको लमही नगरपालिका– ७, हस्नापुरमा ७३ लाख १३ हजार रुपैयाँ लागतको निर्माण कार्यसमेत रद्द गरिएको सूचना अधिकारी वलीले जानकारी दिए।
ठेकेदार कम्पनीहरूले सम्झौताअनुसारको करारीय दायित्व पूरा नगरेपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ र ६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ।
आयोजनाले ठेक्का रद्द गर्नुका साथै सम्बन्धित निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको हो।