काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै संविधान, प्रेस स्वतन्त्रता र राज्यका संस्थाहरूको स्वायत्तताको सम्मान गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै राणाले जनमतलाई निरंकुश बन्ने अनुमतिका रूपमा नभई जनताप्रति थप उत्तरदायी हुने जिम्मेवारीका रूपमा लिनुपर्ने बताएका हुन्।
'लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्छ, तर सरकारभन्दा शक्तिशाली संविधान र कानुन हुन्छन्,' उनले लेखेका छन्, 'जनताको जनमत सरकारलाई निरंकुश बन्ने अनुमति होइन, जनताप्रति थप उत्तरदायी बन्ने जिम्मेवारी हो।'
समाचारको स्रोत खोज्ने नाममा पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा सादा पोसाकका प्रहरी परिचालन गरी धरपकड गर्ने तथा राज्यका महत्वपूर्ण निकायका पदाधिकारी र कर्मचारीमाथि दबाब सिर्जना गर्ने शैली अपनाइएको भन्दै राणाले आपत्ति जनाएका छन्। यस्ता गतिविधिले लोकतान्त्रिक शासन व्यवस्थामाथि प्रश्न खडा गरेको उनको भनाइ छ।
'कानुनको शासनमा असहमतिको जवाफ प्रतिशोधबाट होइन, विधि र प्रक्रियाबाट दिइनुपर्छ। प्रधानमन्त्री कार्यालय राज्य सञ्चालनको केन्द्र हो, केरकार र हिरासत गृह होइन,' उनले भनेका छन्।
सरकारको कार्यशैलीप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि व्यक्त भइरहेको उल्लेख गर्दै राणाले सरकार पार्टीको राजनीतिक प्रतिबद्धताभन्दा बाहिर गएर चलेको हो वा सार्वजनिक असहमतिका बाबजुद यस्ता गतिविधिमा मौन सहमति रहेको हो भन्ने प्रश्न गरेका छन्।
पासपोर्ट प्रकरण, न्यायालयसँग सम्बन्धित विषय र पत्रकार पक्राउसम्मका घटनाक्रम उल्लेख गर्दै उनले राज्यका संवैधानिक निकाय तथा संस्थाहरूलाई स्वतन्त्र राख्नुभन्दा आफ्नो अनुकूल परिचालन गर्ने सोच सरकारमा हावी हुँदै गएको आशंका व्यक्त गरेका छन्। संस्थाहरूको गरिमा, स्वायत्तता र निष्पक्षता जोगाउनु सरकारको संवैधानिक दायित्व भएको उनले बताएका छन्।
राणाले सरकारका सकारात्मक कामको समर्थन गर्ने तर संविधान, लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेपको विरोध गर्ने स्पष्ट पारेका छन्। उनले सरकारलाई कार्यशैली सच्याउन र सत्तारूढ रास्वपालाई सरकारलाई लोकतान्त्रिक मूल्य तथा राजनीतिक प्रतिबद्धताभित्र राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
दुई तिहाइको जनमत निरंकुशता स्थापित गर्न नभई सुशासन, विकास, समृद्धि र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्राप्त भएको राणाको भनाइ छ। जनमतको सम्मान सत्ता प्रदर्शनबाट नभई जनताको विश्वास र संविधानको मर्यादा जोगाएर हुने उनले उल्लेख गरेका छन्।
'लोकतन्त्रमा सत्ता स्थायी हुँदैन, तर संविधान र संस्थाहरूको गरिमा स्थायी हुनुपर्छ,' उनले लेखेका छन्।