एसिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख दिने

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी एसिया कपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीलाई पुरस्कार दिने घोषणा गरेका हुन्।

नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको थियो। उक्त सफलतालाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

अध्यक्ष चन्दले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि गौरवको विषय भएको बताए। उनले राष्ट्रिय टोलीको सफलताको सम्मान गर्दै सरकारले पनि खेलाडीका लागि पुरस्कार घोषणा गर्नुपर्नेमा जोड दिए।

यसैबिच, अध्यक्ष चन्दले देशको अर्थतन्त्र र खेलकुद क्षेत्रलाई चलायमान बनाउन एनपिएलले महत्त्वपूर्ण योगदान पुर्याएको बताए। चुनौतीपूर्ण परिस्थितिका बाबजुद सम्बन्धित निकायबिच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो।

एनपिएलको वित्तीय पारदर्शिता र लेखा परीक्षण प्रक्रियामा पनि सुधार हुँदै गएको अध्यक्ष चन्दले बताए। उनका अनुसार पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा वित्तीय पारदर्शिता र लेखा परीक्षण प्रक्रियामा उल्लेखनीय सुधार भएको छ।

सुझावित समाचार