काठमाडौं। सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै आलोचना गर्ने प्रवृत्तिप्रति प्रश्न उठाएका छन्। दसैँ–तिहारमा टीका लगाउने, पशुबलि दिने तथा तिजमा हरियो साडी र चुरा लगाउने परम्परामाथि आलोचना हुने गरेको उल्लेख गर्दै उनले सबै धर्म र संस्कृतिलाई समान दृष्टिले हेर्नुपर्ने बताएका छन्।
शाहीले आफू कुनै धर्म वा संस्कृतिको विरोधमा नरहेको स्पष्ट पार्दै सुधारका नाममा नेपाली समाजका मौलिक परम्परालाई मात्रै निसाना बनाउनु उचित नभएको धारणा व्यक्त गरेका हुन्।
उनका अनुसार दसैँ–तिहारमा टीका लगाउने परम्परा, खसीबोका काट्ने तथा बलि दिने चलन र तिजमा हरियो साडी तथा चुरा लगाउने परम्परामाथि बारम्बार प्रश्न उठाउने गरिएको छ। महाशिवरात्रिमा भगवान् शिवको आराधना गर्दासमेत आलोचना हुने गरेको उनको भनाइ छ।
पशुबलिका नाममा जनावरलाई घिसार्ने, तड्पाउने र निर्दयी तरिकाले वध गर्ने कार्यको भने आफू पनि विरोधी रहेको शाहीले बताएका छन्। पशुप्रति क्रूर व्यवहार हुन नहुने उल्लेख गर्दै सुधार आवश्यक रहेका परम्परा र अभ्यासलाई सुधार गर्नुपर्ने उनको धारणा छ।
शाहीले दसैँमा दिइने पशुबलिको विरोध गर्नेहरूले मुस्लिम समुदायको बकरा इदमा हुने पशुवध तथा क्रिसमसका वेला हुने मासु खपतका विषयमा पनि समान रूपमा प्रश्न उठाउँछन् कि उठाउँदैनन् भन्दै प्रश्न गरेका छन्।
उनले आफू क्रिसमस वा इदको विरोधमा नरहेको दोहोर्याउँदै सबै धर्म, संस्कार र संस्कृतिप्रति समान सम्मान हुनुपर्नेमा जोड दिएका छन्।
सुधारका नाममा नेपाली समाजको मौलिक धर्म, संस्कार र संस्कृतिलाई मात्रै आलोचनाको केन्द्र बनाउनु कत्तिको उचित हो भन्ने प्रश्न उठाउँदै शाहीले धार्मिक तथा सांस्कृतिक विषयमा समान मापदण्ड अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।