कतारमा रहेका युवाको सहयोगमा ७६ वर्षीया दलमायाले पाइन् नयाँ घर

बिहिबार, २९ असोज, २०८३
डिजिटल संस्करण

उदयपुर/ जंगली हात्तीले घर भत्काइदिएपछि घरबारविहीन बनेकी त्रियुगा नगरपालिका–७ तिलबारीकी ७६ वर्षीया दलमाया रिखाम मगरले दसैँको मुखमा नयाँ घर पाएकी छिन्। वैदेशिक रोजगारीका लागि कतारमा रहेका उदयपुरे युवाहरूको सहयोगमा प्रवासी सेवा समाज कतार उदयपुरले नयाँ घर बनाएर हस्तान्तरण गरेको हो।

बिहीबार आयोजित एक कार्यक्रममा समाजले टिनले छाएको एकतले नयाँ घर दलमायालाई हस्तान्तरण गरेको हो। गएको माघमा जंगली हात्तीले घर भत्काइदिएपछि उनी घरविहीन बनेकी थिइन्। समाजका महासचिव सञ्जीप कटुवालका अनुसार कतारमा वैदेशिक रोजगारीमा रहेका उदयपुरे युवाहरूबाट रकम संकलन गरी घर निर्माण गरिएको हो।

युवाहरूले दुई लाख रुपैयाँ संकलन गरेका थिए। उक्त रकमबाट आवश्यक निर्माण सामग्री खरिद गरिएको थियो भने घर बनाउन स्थानीयले काठपात, ढुंगा, गिट्टी र बालुवा सहयोग गरेका थिए। ‘हामीले दुई लाख रुपैयाँ संकलन गरेका थियौँ। त्यसबाट बजारमा किन्नुपर्ने निर्माण सामग्री किन्यौँ। स्थानीयले पनि आवश्यक काठपात, ढुंगा, गिट्टी र बालुवा सहयोग गर्नुभयो। सबैको सहयोगमा एकतले टिनले छाएको सिमेन्टवाला घर बनाएर हस्तान्तरण गरेका छौँ,’ कटुवालले भने।

दलमायाले १५ वर्षअघि श्रीमान् गुमाएकी थिइन्। उनका एक छोरा भए पनि उनी काठमाडौंमा बस्दै आएका छन्। श्रीमानको निधनपछि एक्लै जीवन बिताउँदै आएकी दलमाया घर भत्किएपछि थप समस्यामा परेकी थिइन्।

प्रवासी सेवा समाज कतार उदयपुरका पूर्वअध्यक्ष होमबहादुर बस्नेतका अनुसार दलमायाको पुरानो घर थाकल र माटोले बनेको थियो। ‘पहिला थाकल र माटोले बनेको फुसको घर थियो। गएको माघमा जंगली हात्तीले त्यो पनि भत्काइदिएपछि उहाँ घरबारविहीन हुनुभएको थियो। हाम्रो संस्थाको पहलमा उहाँका लागि घर बनाउन सफल भएका छौँ,’ बस्नेतले भने।

दलमाया एकल महिला भत्ताको रकम र आफन्तको सहयोगमा खाद्यान्नको जोहो गर्दै आएकी छन्। दसैँको मुखमा नयाँ घर पाएपछि उनी खुसी छिन्। अब नयाँ घरमै दसैँ मनाउने छिन्। ‘एकल महिला भत्ता र आफन्तको सहयोगमा खानेकुराको जोहो गर्दै आएकी छु। अब नयाँ घरमा दसैँ मनाउने छु,’ उनले भनिन्।

समाजले त्रियुगा नगरपालिका–७ का वडासदस्य प्रेम कार्की, उदयपुरगढी गाउँपालिका–७ का वडाध्यक्ष भुवन केप्छाकी मगर तथा स्थानीयवासीको रोहवरमा दलमायालाई घर हस्तान्तरण गरेको हो। प्र्रवासी सेवा समाज कतार उदयपुरले आर्थिक रुपमा विपन्नहरुको लागि उपचार लगायतका सेवाका काममा सहयोग संकलन गरेर सहयोग गर्दै आएको छ।

सुझावित समाचार