भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा मोरङ सुन्दरहरैँचा नगरपालिका– ७, गोठगाउँस्थित श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यालय भवन उद्घाटन गरेका छन् । 
यो भारत सरकारको आर्थिक सहयोगअन्तर्गत कार्यान्वयन भइरहेको उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेको भारतीय राजदूतावासले जनाएको छ ।  

विद्यालय उद्घाटन कार्यक्रममा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिका, मोरङका मेयर केदारप्रसाद गुरागाईं सहभागी थिए । विद्यालय निर्माण परियोजना  मोरङको सुन्दरहरैँचा नगरपालिकाले कार्यान्वयन गरेको थियो । 

कोशी प्रदेशका मुख्यमन्त्री तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्दै विद्यालय भवन निर्माणपछि विद्यार्थी तथा शिक्षकहरूको सिकाइ वातावरणलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

सन् २००३ मा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भएयता विभिन्न क्षेत्रहरूमा भारत सरकारद्वारा नेपालका सबै सातवटै प्रदेश र ७४ वटा जिल्लाहरू समेट्ने गरी ६०५ वटा परियोजनाहरू कार्यान्वयन भएका छन् । तीमध्ये मोरङ जिल्लामा १७ वटा परियोजनासहित कोशी प्रदेशमा १०३ वटा परियोजनाहरू रहेका छन् । यसका अतिरिक्त, भारत सरकारले मोरङ जिल्लामा २१ वटा एम्बुलेन्स र १७ वटा स्कुलबससहित कोशी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई १५० वटा एम्बुलेन्स र ६२ वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ ।

सुझावित समाचार