धनकुटामा ३४१ किलो गाँजासहित एकजना पक्राउ

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

धनकुटा/ साँगुरीगढी गाउँपालिका–६, भेडेटारबाट लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भेडेटारस्थित स्काइवाकनजिक भित्री सडकमा दुर्घटनाग्रस्त अवस्थामा रहेको स्कार्पियोबाट गाँजासहित एकजनालाई गए राति नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

भेडेटारको ढुंगेबाट भेडेटारतर्फ आउँदै गरेको बा १३ च ६२७५ नम्बरको स्कार्पियो ढुंगेमा दुर्घटना परेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा रहेको स्कार्पियो चेकजाँच गर्ने क्रममा ३४१ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।

सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको स्कार्पियो जाँच गर्ने क्रममा गाडीभित्र बोरामा प्याक गरी लोड गरेको गाँजा फेला परेको थियो। गाडीभित्र कोही फेला नपरे पनि दुर्घटनास्थल नजिक शंकास्पद अवस्थामा रहेका मोरङको विराटनगर महानगरपालिका–९ घर भई सुनसरीको धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय अमित विश्वकर्मालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

घटनास्थलबाट बरामद गरिएको गाँजा र शंकास्पद रूपमा पक्राउ परेका अमितलाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ। स्कार्पियो घटनास्थलमा नै छ।

सुझावित समाचार