रामेछाप । रामेछाप नगरपालिका– १ गोठगाउँका वडाध्यक्ष रेखबहादुर खत्रीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बुधबारदेखि लागू हुने गरी नगरप्रमुखलाई राजीनामा बुझाएका हुन्।
नगरप्रमुखलाई सम्बोधन गर्दै बुझाएको राजीनामापत्रमा खत्रीले पछिल्लो समय नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया तथा वडालाई हेर्ने व्यवहारका कारण निर्वाचित जनप्रतिनिधिका रूपमा प्रभावकारी ढंगले काम गर्ने वातावरण असहज बन्दै गएको उल्लेख गरेका छन्।
उनले वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने अवस्थामा कतिपय विषयमा अल्पमत र बहुमतका आधारमा व्यवहार हुने तथा गोठगाउँका जायज तथा आवश्यकताका विषयलाई अपेक्षित प्राथमिकता नदिइएको बताएका छन्। विकास तथा जनसरोकारका विषयमा समेत समान दृष्टिकोण कायम हुन नसकेको भन्दै उनले राजीनामा दिएको उल्लेख गरेका छन्।
खत्रीले आफ्नो कार्यकालमा जनतासमक्ष गरिएका कतिपय प्रतिबद्धता तथा अपेक्षाअनुसारका काम कार्यान्वयन गर्न नसकेको पनि स्वीकार गरेका छन्। वडावासीको अपेक्षा पूरा गर्न निर्वाचित वडाध्यक्षका रूपमा थप कठिनाइ भोग्नुपरेको उनको भनाइ छ।
राजीनामा पत्रमा उनले जनताको उचित माग र वडाको हितभन्दा व्यक्तिगत असहमति तथा पूर्वाग्रहले प्राथमिकता पाएको अनुभूति भएको उल्लेख गरेका छन्। यस्तो अवस्था लोकतान्त्रिक स्थानीय शासनको मर्मअनुकूल नभएको उनको निष्कर्ष छ।
खत्रीले आफूले कसैप्रति व्यक्तिगत आग्रह–पूर्वाग्रह राखेर राजीनामा नदिएको स्पष्ट गर्दै जनताको पक्षमा प्रभावकारी रूपमा काम गर्न आवश्यक वातावरण, सहकार्य, समान व्यवहार र संस्थागत समन्वय कायम हुन नसकेको अवस्थामा पदमा निरन्तर रहनु वडावासीप्रतिको जिम्मेवारीसँग न्याय नहुने निष्कर्षमा पुगेको बताएका छन्।
नौ वडा रहेको रामेछाप नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित आठजना वडाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए। पछिल्लो समय वडाध्यक्ष खत्री र नगरप्रमुख लव श्रेष्ठ न्यौपानेबिच बजेटलगायतका विषयमा मतभेद हुँदै आएको थियो। खत्रीको राजीनामासँगै नगरपालिकाभित्र जनप्रतिनिधिबिचको आन्तरिक मतभेद थप सतहमा आएको देखिएको छ।