तान्जानिया । अफ्रिकी मुलुक तान्जानियाको अरुसा सहरमा जारी १५३औँ अन्तरव्यवस्थापिका संघ (आइपियू) सम्मेलनको दोस्रो दिन नेपालका युवा सांसद रविन महतोले युथ पार्लियामेन्ट फोरममा नेपालको प्रतिनिधित्व गरेका छन्।
फोरमलाई सम्बोधन गर्दै सांसद महतोले विश्वभरका संसदमा युवाहरूको प्रतिनिधित्व अझै न्यून रहेको विषयलाई प्रमुखताका साथ उठाए। उनले नेपालको वर्तमान प्रतिनिधिसभामा ४३ प्रतिशत युवा सांसदहरूको सहभागिता रहेको उल्लेख गर्दै युवा पुस्ताको राजनीतिक सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण उपस्थितिको आवश्यकता औँल्याए।
महतोले नेपालमा हालै गएको भोटेकोशी–त्रिशूली बाढीले पुर्याएको क्षति र त्यसबाट सिर्जित स्वास्थ्य जोखिमका विषयमा समेत फोरमको ध्यानाकर्षण गराए। प्राकृतिक विपतका समयमा स्वास्थ्य क्षेत्रमा पर्ने असर न्यूनीकरण गर्न प्रभावकारी तयारी, समन्वय र युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए।
उनले संकट व्यवस्थापन तथा विपत् प्रतिकार्यमा युवाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने धारणा राख्दै युवालाई नीति निर्माण, नेतृत्व र संकट व्यवस्थापनका क्षेत्रमा थप अवसर प्रदान गर्नुपर्नेमा जोड दिए।
यसैबिच, युथ पार्लियामेन्ट फोरममा सांसद महतोले नेपालको तर्फबाट उम्मेदवारीसमेत दर्ता गराएका छन्। उनले फोरममा सहभागी विभिन्न देशका सांसद तथा पार्लियामेन्टेरियनहरूलाई आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आह्वान गरेका छन्।
महतोको उम्मेदवारीलाई नेपालबाट अन्तर्राष्ट्रिय युवा संसदीय मञ्चमा प्रतिनिधित्व विस्तार गर्ने तथा विश्वस्तरमा नेपाली युवा सांसदहरूको आवाजलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।