हाटमा खसी, बोका, कुखुरा र सुँगुरको दसैँ व्यापार

बुधबार, २१ असोज, २०८३
प्रिन्ट संस्करण
  • चाडपर्वमा खर्च जुटाउन किसानले वर्ष दिनदेखि पालेर राखेका खसी–बोका, कुखुरा र सुँगुर साप्ताहिक हाट–बजारमा ल्याएर बिक्री गर्ने क्रम बढेको छ

धनकुटा/दसैँ नजिकिएसँगै धनकुटाका साप्ताहिक हाट–बजारमा खसी–बोका, कुखुरा र सुँगुरको किनबेच बढ्न थालेको छ । 

चाडपर्वमा खर्च जुटाउन किसानले वर्ष दिनदेखि पालेर राखेका पशुपक्षी बिक्रीका लागि हाट–बजारमा ल्याउन थालेका हुन् । किसानको मात्र होइन, हाट–बजारमा जिउँदा खसी–बोका खरिद गर्ने उपभोक्ताको पनि चहलपहल पनि बढेको छ ।

जिल्लाका तीन स्थानमा ठुलो साप्ताहिक हाट लाग्ने गरेको छ । धनकुटा बजारमा बिहीबार तथा हिले र पाख्रीवासमा शनिबार साप्ताहिक हाट लाग्ने गरेको छ भने सिधुवा बजार, आँखीसल्ला र छिन्ताङमा बुधबार हाट लाग्ने गर्छ । यी बजारमा अहिले स्थानीय किसानले ल्याएका खसी–बोका, कुखुरा र सुँगुरको खरिद–बिक्री सबैभन्दा बढी हुने गरेको छ ।

दसैँलक्षित कारोबारलाई व्यवस्थित बनाउन धनकुटामा खसी–बोकाको मासुको मूल्य प्रतिकिलो नौ सयदेखि एक हजार एक सय रुपैयाँसम्म निर्धारण गरिएको मासु व्यवसायी संघ धनकुटाका अध्यक्ष मिलन खड्गीले बताए । दसैँ नजिकिँदै जाँदा खसी–बोका मासुको माग अझ बढ्ने व्यवसायीको अनुमान छ । दसैँमा मासुको खपत बढ्ने भएकाले आगामी दिनमा खसी–बोकाको कारोबार थप बढ्ने अपेक्षा गरिएको खड्गीले बताए । 

सुझावित समाचार