- तर, क्यान्सरको विशिष्टीकृत भनिएकै अस्पतालमा छैन पेट स्क्यान र एमआरआई
काठमाडौं उपत्यकाभित्र क्यान्सरको उपचार हुने विशिष्टीकृत स्वास्थ्य संस्था भक्तपुर क्यान्सर अस्पतालमा १६५ शय्या छन् । तर, दैनिक बिरामी भने औसत ५०० आउँछन् । बढ्दो चाप थेग्न नसकेपछि अस्पतालले बिरामी फर्काउनुपरेको निर्मम अवस्थासमेत छ ।
यो अस्पतालमा दैनिक ओपिडीमा चार सय, किमोथेरापीका सय र केही बिरामी अन्य विभिन्न प्रक्रियाका लागि आउने गरेका छन् । अस्पतालका अनुसार बिरामीको संख्या गत वर्षको तुलनामा ह्वात्तै बढेको हो । गत वर्ष भदौमा यी सबै खालका गरी दैनिक ४५० जनासम्म बिरामी आएका थिए । क्यान्सरको डाइग्नोस्टिक (पत्ता लगाउने जाँच) गर्न आउनेको संख्या पनि थपिँदै गएपछि उपचारमा समस्या पर्दै गएको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले बताए ।
‘पहिलेभन्दा अहिले क्यान्सरका बिरामी बढेका छन्, एकातर्फ क्यान्सर रोग लाग्नेको संख्या बढेको छ, अर्कातर्फ रोग पत्ता लगाउन उपचारमा पुग्नेको संख्या बढेको छ,’ निर्देशक डा. चालिसेले भने, ‘क्यान्सरको उपचार हुने सीमित अस्पताल मात्रै हुँदा भक्तपुरमा बिरामीको संख्या बढेको हो । यो रोगले परिवार मात्रै होइन, देश नै आर्थिक रूपमा थला पर्ने अवस्थामा पुर्याउन सक्ने भएकाले क्यान्सर लाग्नै नदिन र समयमै जाँच गर्नेतर्फ सबै पक्षले ध्यान दिनुपर्ने हाम्रो निष्कर्ष छ ।’ थेगिनसक्नु बिरामी आएपछि अस्पतालले दैनिक ५० जतिलाई फकाउनुपर्ने बाध्यता रहेको भन्दै चालिसेले कतिपय बिरामी भर्नाको क्युमा बस्ने गरेको बताए । यहाँ दैनिक १०–१२ जना क्यान्सरका बिरामीको शल्यक्रिया हुन्छ ।
अस्पतालको वार्षिक तथ्यांक हेर्दा क्यान्सरका बिरामी बढेका देखिन्छन् । गत आर्थिक वर्षमा ०८२/८३ मा एक लाख दुई हजार ५४८ बिरामी ओपिडीमा आएका थिए । सोही अवधिमा किमोथेरापी गराउन १२ हजार ८१७ बिरामी आएका थिए । अघिल्लो वर्ष ०८१/८२ मा एक लाख १५३ बिरामी ओपिडीमा आएकामा किमोथेरापीका लागि आठ हजार बिरामी आएका थिए । त्यस्तै, ०८०/८१ मा ओपिडीमा ९५ हजार ५०४ र किमोथेरापीका लागि ६ हजार ३०२ बिरामी आएका थिए । ०७९/८० मा भने ओपिडीमा ८२ हजार ९२४ बिरामी आएकामा पाँच हजार तीन सयले किमोथेरापी सेवा लिएका थिए । यसरी चार वर्षको तथ्यांक हेर्दा हरेक वर्ष बिरामी बढेको देखिन्छ ।
भक्तपुर क्यान्सर अस्पतालमा दैनिक एक सय बिरामीको किमोथेरापी हुन्छ । वार्षिक आठ हजारले रेडियोथेरापी सेवा लिने गरेको अस्पतालका मेडिकल रेकर्डर प्रेम सुजखुले बताए । त्यस्तै, कतिपय बिरामी अन्य अस्पतालबाट रिफर भएर यहाँ आउने गर्छन् ।
तर, अस्पतालको संरचना बिरामीको चाप थेग्न असमर्थ छ । अस्पतालको साँघुरो संरचना विस्तार गर्नका लागि चाँगुनारायण नगरपालिकाले ४५ रोपनी जग्गा दिने प्रतिबद्धता जनाए पनि उक्त स्थानमा संरचना बनाउन स्रोतसाधन नभएको निर्देशक चालिसेको भनाइ छ ।
पेट स्क्यान र एमआरआई छैन, बिरामीहरू निजी ल्याबमा जान बाध्य
क्यान्सरको उपचारका लागि विशिष्टीकृत मानिएको यो अस्पतालमा अत्यावश्यक पेट स्क्यान र एमआरआई मेसिन नै छैन । यहाँ क्यान्सरको उपचार गराइरहेका बिरामीहरू यी सेवाका लागि निजी ल्याबमा जान बाध्य छन् । निजी ल्याबमा यो जाँच महँगो पर्ने बिरामीहरूको गुनासो छ ।
उपचारका लागि भारत जाने बिरामीको संख्या बढ्दो
स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विश्व स्वास्थ्य संगठन, नेपाललगायत केही निजी संस्थाहरूले ०७९ मा गरेको अध्ययनमा एक लाखमा क्यान्सर पहिचान भएको थियो । तर, उक्त तथ्यांकमा नसमेटिएका बिरामी पनि थुप्रै हुन सक्ने विज्ञहरूले आकलन गरेका छन् ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. चालिसेले नेपालमा उपचार गराइरहेकाभन्दा ठुलो संख्यामा क्यान्सरका बिरामी भारत जाने गरेको बताए । ‘अहिले नेपालमा उपचार गराइरहेका बिरामी जति छन्, त्योभन्दा बढी बिरामी भारतका विभिन्न अस्पतालहरूमा पुगेका छन्, सबै बिरामीलाई हामीले थेग्न सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘यो देशमा क्यान्सर भयावह बनेको एउटा चित्र हो ।’
नसर्ने रोगले विकराल रूप लिँदै गएपछि स्वास्थ्य मन्त्रालयले ०८१ देखि विभिन्न खालका परीक्षण गरेर नसर्ने रोगको अवस्था पहिचान गर्न थालेको थियो । जसअनुसार फागुन महिनालाई क्यान्सरलगायत ‘नसर्ने रोगको पहिचान गर्ने महिना’का रूपमा मनाउने घोषणा नै गरेर अभियान थालेको थियो ।
भक्तपुरमै छातीरोग अस्पतालका लागि बनाएको भवन प्रयोगविहीन, क्यान्सर अस्पताललाई दिन अनुरोध
बिरामीको चाप बढ्दै जाँदा भक्तपुर क्यान्सर अस्पतालले सेवा विस्तारको योजना त बनाएको छ, तर ठाउँ अभावका लागि शङ्ढया थप्न चुनौती छ । ‘यति जटिल रोगको उपचार गर्ने अस्पतालमा बिरामीको चाप बढ्नु चानचुने होइन, किनभने क्यान्सर घातक रोग हो, यो रोगको उपचार गर्न आउने बिरामीलाई दुःख दिनुहुँदैन, किनभने उनीहरू आफैँ अप्ठ्यारो रोगसँग जुधिरहेका हुन्छन्,’ निर्देशक डा. चालिसेले भने, ‘तर, हामीसँग सीमित स्रोतसाधन र जनशक्ति भएकाले भ्याएसम्मको सेवा दिने गरेका छौँ ।’
क्यान्सर अस्पतालमा बिरामीको चाप बढ्दा पनि संरचना अभाव भइरहेका वेला भक्तपुरकै मध्यपुर थिमिस्थित क्षयरोग केन्द्रपरिसरमा छातीरोगको उपचारका लागि निर्माण गरिएको संरचना भने दुई वर्षदेखि प्रयोगविहीन छ । क्षयरोग अस्पतालले उपचार सेवा विस्तार गर्ने योजनासहित उक्त छातीरोगको उपचार गर्ने भवन निर्माण गरिएको थियो । तर, भवन प्रयोगविहीन भएपछि क्यान्सर अस्पतालले उक्त संरचना मागेको छ । उक्त संरचना दिए क्यान्सर अस्पतालको शङ्ढया तीन सयसम्म पुर्याउन सकिने बताए ।
‘थिमिको क्षयरोग केन्द्रपरिसरमा बनेको भवन त्यसै खेर गइरहेको छ, तर हामीकहाँ भने आएका बिरामीलाई पनि फर्काउनुपर्ने अवस्था छ,’ डा. चालिसेले भने, ‘क्षयरोग केन्द्रले बनाएको भवन माग गरिरहेका छौँ । त्यो प्राप्त भए बिरामीको चाप थेग्न सहज हुन्थ्यो, सबैले उपचार पाउने थिए ।’
सरोकारवालासँग छलफल
अस्पतालले पछिल्लो समय अस्पतालमा क्यान्सरका बिरामी बढेको भन्दै सरोकारवालाहरूलाई बोलाएर छलफल गरिरहेको छ । अझ क्यान्सरका महँगो औषधि नपाउने अवस्थाले अस्पताललाई तनावसमेत थप्ने गरेको छ । केही समयअघि अस्पतालले सरोकारवालासँग छलफलसमेत गरेर सहजीकरणका लागि माग गरेको थियो । सो छलफलमा सांसद रुकेश रञ्जित, डा. आनन्दबहादुर चन्द, प्रमिला कुलुङ, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीलगायत थिए । उनीहरूले अस्पताललाई स्रोतसाधनयुक्त बनाउनुपर्नेमा जोड दिए । अस्पताल विकास समिति बोर्ड सदस्य संगीता फुयाँलले बिरामी फर्काउने अवस्थाबाट मुक्त हुनका लागि अस्पतालको शङ्ढया विस्तारमा ध्यान दिनुपर्ने बताइन् । ‘अस्पतालमा बेडसंख्या सीमित छ, बेड चाहियो भनेर दैनिक जनप्रतिनिधिसहित विभिन्न व्यक्तिले फोन गर्नुहुन्छ,’ उनले भनिन्, ‘बिरामीको चाप र मागअनुसार अस्पतालको भौतिक पूर्वाधार विस्तार अविलम्ब गर्नुपर्छ ।’
भक्तपुर १ का सांसद रुकेश रञ्जितले क्यान्सरको उपचार हुने अस्पताललाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । ‘यो अस्पताललाई सुविधायुक्त बनाउनुपर्छ, अस्पताल स्वतन्त्र हुनुपर्छ र यसको संस्थागत विकास र सेवा चुस्त पार्नुपर्छ,’ उनले भने, ‘गम्भीर रोगको उपचार हुने अस्पतालमा राजनीतिक द्वेष थुपारेर आरोप–पत्यारोप गर्नुहुँदैन, समस्या समाधानतर्फ लाग्नुपर्छ ।’
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले चाँगुनारायण नगरपालिकाले जग्गा दिने भने पनि सरकारी जग्गा प्राप्ति प्रक्रिया झन्झटिलो हुने भएकाले सबै मिलेर समाधान गर्नुपर्ने बताए । ‘जग्गा प्राप्तिको प्रक्रिया लामो र झन्झटिलो छ, स्थानीय तहको कार्यपालिकाको निर्णयदेखि जग्गाको स्वामित्व, नापी तथा मालपोत कार्यालयको पत्र, स्थलगत अध्ययनलगायत कागजात चाहिन्छ,’ उनले भने, ‘त्यसकारण जग्गा अस्पतालको नाममा ल्याउने प्रक्रियामा सबैले चासोका साथ समन्वय गर्नुपर्छ ।’
कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे भन्छन्–थेगिनसक्नु बिरामी आएपछि अस्पतालले दैनिक ५० जतिलाई फकाउनुपर्ने बाध्यता छ
पहिलेभन्दा अहिले क्यान्सरका बिरामी बढेका छन्, एकातर्फ क्यान्सर रोग लाग्नेको संख्या बढेको छ, अर्कातर्फ रोग पत्ता लगाउन उपचारमा पुग्नेको संख्या बढेको छ । क्यान्सरको उपचार हुने सीमित अस्पताल मात्रै हुँदा भक्तपुरमा बिरामीको संख्या बढेको हो ।
यो रोगले परिवार मात्रै होइन, देश नै आर्थिक रूपमा थला पर्ने अवस्थामा पुर्याउन सक्ने भएकाले क्यान्सर लाग्नै नदिन र समयमै जाँच गर्नेतर्फ सबै पक्षले ध्यान दिनुपर्ने हाम्रो निष्कर्ष छ । थेगिनसक्नु बिरामी आएपछि अस्पतालले दैनिक ५० जतिलाई फकाउनुपर्ने बाध्यता छ भने कतिपय बिरामी भर्नाको क्युमा बस्ने गरेका छन् ।
थिमिको क्षयरोग केन्द्रपरिसरमा बनेको भवन त्यसै खेर गइरहेको छ, तर हामीकहाँ भने आएका बिरामीलाई पनि फर्काउनुपर्ने अवस्था छ । क्षयरोग केन्द्रले बनाएको भवन माग गरिरहेका छौँ । त्यो प्राप्त भए बिरामीको चाप थेग्न सहज हुन्थ्यो, सबैले उपचार पाउने थिए ।