नेपालको उच्च र प्राविधिक शिक्षा विकासका अग्रणी व्यक्ति मानिने प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत रहेका ८६ वर्षीय शर्माको ह्याम्स अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो ।
केयूको स्थापना गरेका प्रा.डा. शर्मा ६ पटकसम्म उपकुलपति बने । उनले नेपालको उच्च शिक्षामा प्राविधिक धारको शिक्षा भित्र्याए भने अन्य विश्वविद्यालयमा पनि प्राविधिक धारको शिक्षा विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी बेलायतबाट रसायनशास्त्रमा पिएचडी गरेर नेपाल फर्किएका थिए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लाई उकास्नसमेत उनले उल्लेखीय भूमिका निर्वाह गरेका थिए ।
उनले सिटिइभिटीका संस्थापक निर्देशक भएरसमेत नेतृत्व गरेका थिए । नेपालमा प्राविधिक धारको शिक्षालाई सहरदेखि गाउँगाउँसम्म पुर्याउन उनले अग्रणी भूमिका खेलेका थिए । हुम्ला, जुम्लादेखि पूर्व र पश्चिमका अघिकांश जिल्लामा प्राविधिक धारको शिक्षाको सुरुवात गरेका थिए । साथै विद्यालय तहको सिकाइमा पनि प्राविधिक धार विस्तार र विकास गर्न उनले अहं भूमिका निर्वाह गरे । बुढानीलकण्ठ स्कुलको अध्यक्ष भएर काम गरेका उनले विद्यालय तहको पठनपाठनमा प्राविधिक र जीवनोपयोगी शैक्षिक कार्यक्रमलाई जोड दिएका थिए । प्रा.डा. शर्माका श्रीमती र एक छोरीको मृत्यु भइसकेको छ । शर्माको बिहीबार अन्त्येष्टि गरिने काठमाडौं विश्वविद्यालयले जनाएको छ ।