बुधबार १० बजेसम्मका १० मुख्य समाचार

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्कमा 
 संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रको जनरल डिबेटलाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाह बुधबार साँझ अमेरिकाको न्युयोर्क पुगेका छन्। उनलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा र न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले स्वागत गरेका छन्।

पालिकासँगको समन्वयमा बिहीबार र शुक्रबार विद्यालय बिदा गर्न सरकारको आग्रह  
वर्षासँगै बाढीपहिरोको जोखिम बढ्नसक्ने देखिएपछि सरकारले स्थानीय तह (पालिका)सँगको समन्वयमा आवश्यकताअनुसार दुई दिन विद्यालय विदा गर्न आग्रह गरेको छ ।  

शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई सर्कुलर गर्दै बिहीबार र शुक्रबार स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय विदा गर्न भनेको हो । 

एकै दिन ८८ विदेशीको भिसा रद्द, निष्कासनको तयारी 
भिसाको उदेश्यविपरीत नेपालमा बस्दै आएका ८८ जना चिनियाँको भिसा एकै दिन अध्यागमन विभागले रद्द गरेको छ। सिन्धुलीको मरिण गाउँपालिकास्थित जियान फुड प्रालिमा कार्यरत चिनियाँले अन्य कम्पनीको नाममा बिजनेस भिसा लिएका थिए। भिसाको उदेश्यविरपरीत अर्को कम्पनीमा काम गरेको पाइएपछि भिसा रद्द गरेर निष्कासनको प्रक्रिया अघि बढाइएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले जानकारी थिए। 

छानबिनमा तानिएपछि अध्यागमन अधिकृतले फिर्ता गरे घुस 
वैदेशिक रोजगारीमा जाने युवकलाई विनाकारण आधा घण्टासम्म रोकेर घुसको लेनदेन गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत चेतबहादुर सेजुवाल छानबिनमा तानिएका छन् । विदेशमा रहेका साथीमार्फत डिल गरेर घुस असुलेका उनलाई अध्यागमन विभागले प्रारम्भिक छानबिन गरी जिम्मेवारीबाट हटाएर थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । 

प्रारम्भिक छानबिनमा उनले जापानमा रहेका आफ्ना साथी दीपक मल्लको बैंक खातामा २३ हजार रुपैयाँ घुस लिएको खुलेको छ । अधिकृत सेजुवालले आफैँ ती युवकलाई मोबाइलमा क्युआर कोड उपलब्ध गराएका थिए । प्रारम्भिक छानबिनमा घुस लेनदेनको अवस्था देखिएपछि उनीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाइएको विभागका प्रवक्ता टीकाराम ढकालले बताए । 

तेन्जिङले जिताए पहिलो पदक 
२०औँ एसियाडमा नेपालले पहिलो पदक जितेको छ । बुधबार टोयाहासी जिम्नेसियममा नेपाललाई तेन्जिङ शेर्पाले कराँते ८४ केजीको तौल समूहमा कांस्य पदक जिताएका हुन् ।

यसअघि सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

दुई महिनामा एक खर्ब भन्सार राजस्व संकलन 

चालू आर्थिक वर्षको करिब दुई महिनाको अवधिमा एक खर्ब दुई अर्ब भन्सार राजस्व संकलन भएको छ । यो १ साउनदेखि ६ असोजसम्मको तथ्यांक हो। 

चालू आर्थिक वर्ष ०८३र८४ का लागि भन्सार विभागको वार्षिक राजस्व लक्ष्य ६ खर्ब २८ अर्ब रहेको छ। आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा लक्ष्यअनुसार नै भन्सार राजस्व असुली संकलन भइरहेको विभागले जनाएको छ। 

मौसम सुधार नभएसम्म यात्रा नगर्न र सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले मौसममा सुधार नभएसम्म विशेष सतर्कता अपनाउन आह्वान गरेका छन्। मौसम विज्ञान विभागको मौसमसम्बन्धी प्रक्षेपण उल्लेख गर्दै प्रधानमन्त्रीले फेसबुकमार्फत सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका हुन्।

विभागले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको आकलन गरेको छ। 

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, भूमि आयोग कालीकोटका तत्कालीन अध्यक्ष बमसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा
सरकारी र नगर विकास समितिको जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति कालिकोटका अध्यक्ष धिरबहादुर बमसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

कर्णाली राजमार्गसँगै जोडिएको खाँडाचक्र नगर विकास समितिको स्वमित्वमा रहेको जग्गा व्यक्तिको नाममा ल्याएको आरोपमा बमसहित, समितिका विज्ञ सदस्य रमेश नेपाली, सदस्य राजेन्द्र बहादुर थापा, तत्कालीन मालपोत प्रमुख नेत्रबहादुर शाही र खाँडाचक्र १ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष भरत बहादुर शाहीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो।

पोखरास्थित आधुनिक डिपोबाट ‘फ्लाई दुबई’मा ५५४० लिटर हवाई इन्धन रिफ्युलिङ
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आयल निगमले निर्माण गरेको आधुनिक डिपोबाट पहिलोपटक अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन ‘रिफ्युलिङ’ भएको छ। निगमका उपनिर्देशक रामहरि निरौलाका अनुसार बुधबार साँझ पोखरा विमानस्थलमा अवतरण भएको फ्लाई दुबईमा पाँच हजार ५४० लिटर इन्धन हालिएको हो।

‘पोखरामा अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई लक्षित गरी आयल निगमले आधुनिक डिपो बनाएको छ। सोही डिपोबाट पहिलोपटक अन्तर्राष्ट्रिय विमान कम्पनीका रूपमा फ्लाई दुबईमा बुधबार साँझ ५ हजार ५४० लिटर हवाई इन्धन भरिएको छ,’ पोखरामै रहेका उपनिर्देशक निरौलाले टेलिफोनमा भने।

बिपी राजमार्गमा रात्रिकालीन यातायात सञ्चालनमा रोक
बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोक खण्डमा असोज ८ गतेदेखि १२ गतेसम्म रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। 

असोज ७ गते धुलिखेलमा बसेको मनसुन प्रतिकार्य कमान्ड पोस्ट काभ्रेपलाञ्चोकको बैठकले सो निर्णय गरेको हो। मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार सम्भावित बाढी पहिरोको जोखिमलाई ध्यानमा राखी बिपी राजमार्गको काभ्रे खण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हो।

सुझावित समाचार