घुन्सा दुर्घटनाको दुई दशकपछि पनि संरक्षणको बाटो देखाउँदै कञ्चनजंघा

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

कञ्चनजंघाको संरक्षण अभियानमा स्थानीय समुदायलाई अघि सार्ने प्रयास सुरु भएको दुई दशकभन्दा बढी भइसकेको छ। यही अभियानलाई अघि बढाउने क्रममा ज्यान गुमाएका संरक्षणविद् तथा संरक्षणकर्मीको सम्झना गर्दै ताप्लेजुङमा २०औँ राष्ट्रिय संरक्षण दिवस मनाइएको छ।

फुङलिङ नगरपालिका–४, भिन्तुना डाँडामा रहेको संरक्षणविद्हरूको सालिकमा माल्यार्पण गर्दै उनीहरूले संरक्षण क्षेत्रमा पुर्याएको योगदान सम्झिइएको हो। वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा संरक्षणलाई सरकारी निकायको मात्र जिम्मेवारी नबनाई स्थानीय बासिन्दालाई निर्णय र व्यवस्थापन प्रक्रियामै सहभागी गराउनुपर्नेमा जोड दिइएको छ।

कञ्चनजंघा संरक्षण क्षेत्रलाई स्थानीय समुदायको नेतृत्वमा सञ्चालन गर्ने अवधारणाले संरक्षण र स्थानीय जीवनशैलीबिचको सम्बन्धलाई नयाँ ढंगले स्थापित गरेको थियो। संरक्षणका नाममा स्थानीय बासिन्दालाई स्रोतबाट अलग गर्नेभन्दा उनीहरूकै सहभागितामा प्राकृतिक स्रोत जोगाउने अभ्यास कञ्चनजंघाबाट अघि बढेको हो।

यही अवधारणालाई संस्थागत गर्ने क्रममा २०६३ असोज ७ गते घुन्सामा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा हेलिकोप्टर दुर्घटना हुँदा संरक्षण क्षेत्रले महत्वपूर्ण व्यक्तित्व गुमाएको थियो। तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्केसहित २४ जनाले ज्यान गुमाएका थिए।

दुर्घटनाको पीडा दुई दशक पुग्दा पनि मेटिएको छैन। तर, उनीहरूले अघि सारेको संरक्षणको अवधारणा भने कञ्चनजंघामा निरन्तर अभ्यासमा छ। स्थानीय बासिन्दाको सहभागिता, प्राकृतिक स्रोतको दिगो उपयोग र जैविक विविधताको संरक्षणलाई सँगसँगै लैजाने प्रयास कञ्चनजंघा संरक्षण क्षेत्रको प्रमुख विशेषताका रूपमा रहँदै आएको छ।

वातावरण संरक्षण तथा विकास मञ्चका अध्यक्ष खड्गविक्रम सुवेदीले संरक्षण अभियानमा योगदान गरेका व्यक्तिहरूको योगदानलाई सम्झनासँगै उनीहरूले देखाएको बाटोबाट अघि बढ्नुपर्ने बताए। प्राकृतिक स्रोत संरक्षणमा स्थानीय समुदायको भूमिका अझ बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

दिवसका अवसरमा आयोजित अन्तर्क्रियामा संरक्षण क्षेत्रको वर्तमान अवस्था, स्थानीय सहभागिता र आगामी संरक्षण अभियानका विषयमा समेत छलफल गरिएको थियो। बदलिँदो जलवायु, प्राकृतिक स्रोतमा बढ्दो दबाब र विकास निर्माणका गतिविधिबिच संरक्षणको जिम्मेवारी अझ चुनौतीपूर्ण बन्दै गएको सहभागीहरूले बताए।

कञ्चनजंघा क्षेत्रमा संरक्षणको नेतृत्व स्थानीय समुदायमा हस्तान्तरण गर्ने अभ्यासलाई नेपालको संरक्षण इतिहासमा महत्वपूर्ण कदमका रूपमा हेरिन्छ। त्यसैले घुन्सा दुर्घटनाको स्मरण केवल दुर्घटनामा ज्यान गुमाएकाहरूलाई सम्झिने अवसर मात्र नभई उनीहरूले अघि सारेको संरक्षण दृष्टिकोणको समीक्षा र निरन्तरताको अवसरसमेत बन्दै आएको छ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री खगेनसिं हाङ्गामसहित विभिन्न सरकारी निकाय, संरक्षण क्षेत्र र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता थियो। सहभागीहरूले दिवंगत संरक्षणविद्को योगदानलाई स्मृतिमा मात्र सीमित नराखी संरक्षणका काममा व्यवहारमै उतार्नुपर्ने धारणा राखेका थिए।
 

सुझावित समाचार