ललितपुरको महालक्ष्मी नगरपालिकामा एलपी ग्यास कालोबजारी गर्ने एक व्यापारी पक्राउ परेका छन्। महालक्ष्मी– ६, सानागाउँस्थित सिद्धिपुर ग्यास स्टोरका सञ्चालक ४७ वर्षीय सरोज नेम्कुललाई प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलको टोलीले पक्राउ गरेको हो।
नेम्कुलले पसलमा भएका ग्यास सिलिन्डरहरूको सिलबन्दी खोलेर सबै सिलिन्डर रित्तो हो भनी कृत्रिम अभाव सिर्जना गरेको सूचनापछि खटिएको प्रहरी टोलीले स्टोरमा खानतलासी गरेको थियो।
उक्त स्टोरबाट सिलसहित दुई र सिल नभएको २२ वटा भरी सिलिन्डर फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। नेम्कुललाई प्रहरी वृत्त सातदोबाटो ल्याएर ग्यासको कृत्रिम अभाव सिर्जनासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।