एमाले युवा नेतृ एवं बागमती प्रदेशकी पूर्वअर्थमन्त्री रचना खड्काले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई केन्द्रीय कमिटीमा छलफलको एजेन्डा नबनाउनु गलत निर्णय भएको बताएकी छिन्। ललितपुरको भनिमण्डलमा बुधबार जारी केन्द्रीय कमिटी बैठकमा नेतृ खड्काले यस्तो बताएकी हुन्।
‘यो बैठकको केन्द्रीय विषय नै कार्यदलको प्रतिवेदन हुनुपर्दथ्यो। प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत नहुनु अत्यन्तै गलत निर्णय हो,’ खड्काले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि आठबुँदे सुझाव राख्दै भनिन्। कार्यदलको तथ्यलाई केन्द्रमा राखेर विगतका निर्णय र कार्यदिशामा निर्मम समीक्षा नहुनु गलत भएको उनको जिकिर छ।
‘कार्यदलले यही तथ्यलाई केन्द्रमा राखेर खस्कँदो जनमतका कारणहरूको खोजी गर्दै हामीले गरेका निर्णयहरू र कार्यदिशातर्फ फर्केर निर्मम समीक्षा गर्नुपर्ने थियो,’ उनको सुझावमा उल्लेख छ, ‘कार्यदलले आयोजना गरेको पार्टीभित्रको छलफललाई नेतृत्व परिवर्तनमा मात्रै केन्द्रित गर्ने काममा आफैँ कार्यदल निर्माण गर्ने अध्यक्ष कमरेडको समेत योगदान रह्यो। तथापि नेतृत्वको प्रभावकारिताको विषय पनि पुनर्गठनको एउटा विषय त हो नै।’
खड्काले नेताहरूको एकताले आगामी चुनावी परिणाम सुखद र सकारात्मक हुन नसक्नेतर्फ सचेत गराउँदै सम्पूर्ण रूपले पार्टी एकताबद्ध भएमा मात्र परिणाम हासिल हुन सक्नेतर्फ इंगित गरेकी छिन्।
‘मलाई नेताहरू एकापसमा मिल्नुहुन्न कि भन्ने डर लाग्दैन किनभने विगतको अनुभवको आधारमा भन्न सक्छौ यहाँहरू मिल्नु हुन्छ र एकताबद्ध हुनुहुन्छ। तर, चिन्ता के हो भने यहाँहरूको एकताले मात्रै आजका दिनमा माथि उल्लेखित निर्वाचन परिणामलाई बदल्न सक्ला ?’ खड्काको प्रश्न छ।
प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि गरिने आन्दोलनले जनतामा टुट्दै गएको भरोसा र ओरालो यात्रा अझ तीव्र बनाउन सक्ने भन्दै खड्काले त्यसमाथि पुनर्विचार गर्नसमेत बैठकको गम्भीर ध्यानाकर्षण गराइन्।
त्यस्तै, विचार, व्यवहार, जीवनशैली, कार्यशैली, पार्टी काम छोडेर मूल्यांकनको एउटै आधार नेतृत्वको प्रशंसा र आलोचनामा सीमित भय र संकुचनबाट पार्टीपंक्तिलाई मुक्त गर्नुपर्नेमा जोड दिँदै खड्काले थप सुझाव राखेकी छिन्, ‘आन्तरिक प्रतिस्पर्धा नेतृत्वप्रतिको अनादर होइन। एजेन्डामा असहमति राख्नेबित्तिकै पार्टी विभाजन गर्न खोजेको आरोप लगाउने काम बन्द गरौँ।’
जनताको मनोविज्ञान बुझ्नुपर्नेमा जोड दिँदै उनले डिजिटल प्लेटफर्ममा प्रकट जनमतलाई घेराबन्दी र षड्यन्त्रभन्दा त्यसले जनमत निर्माणमा निर्णायक काम गर्छ भन्ने तथ्यलाई स्विकारेर आफ्ना गतिविधिहरूमा संयमता अपनाउनुपर्ने बताएकी छिन्।