सुनसरीको इटहरीबाट प्रहरीले ४५० किलो गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राति करिब ११:१५ बजे प्रहरी चौकी तरहराबाट खटिएको टोलीले इटहरी उपमहानगरपालिका– २०, तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गको ४ नम्बर ट्यांकीनजिकै बेवारिसे अवस्थामा रहेको एम्बुलेन्स जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
बा.२च ५५७३ नम्बरको उक्त एम्बुलेन्समा ‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको प्रहरीले जनाएको छ। एम्बुलेन्सभित्र प्लास्टिकका पोकामा राखिएको गाँजाजस्तो देखिने पदार्थ ४५० किलो फेला परेको हो।
प्रहरीले गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा ल्याएको जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।