कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–तुम्लिङटार–सभाखोला सडकखण्ड दैनिक नौ घण्टा बन्द गरिएको छ। सडक डिभिजन कार्यालय तुम्लिङटारले सूचना जारी गर्दै खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड सोमबारदेखि दैनिक नौ घण्टा बन्द हुने जनाएको हो।
सदरमुकाम खाँदबारी–तुम्लिङटार–सभाखोला सडकखण्डको करिव १७ किलोमिटर सडक मर्मत तथा चौडा गर्न यातायात बन्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलले बताए। उनका अनुसार असोज ६ गतेदेखि असोज ३० गतेसम्म बिहान ८ देखि १२ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो।
खाँदबारी–तुम्लिङटार–सभाखोला सडकखण्ड अत्यन्तै जीर्ण, खाल्डाखुल्डी र साँघुरो हुँदा दोहोरो यातायातका साधानहरू सञ्चालन हुनसमेत समस्या हुँदै आएको छ। जीर्ण सडकका कारण दुर्घटनासमेत बढ्न थालेपछि मर्मत गर्न थालिएको हो।
सडक मर्मतको काम समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीको आग्रहमा यातायात बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। निषेधित समयमा वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ।
उक्त सडकखण्ड मर्मत र चौडा गर्न डिएस बिल्डर्स-सुपर लाइक जेभीले ६ करोड रुपैयाँमा सम्झौता गरेको सडक डिभिजनले जनाएको छ। आगामी मंसिर मसान्तसम्म सम्झौताबमोजिमको काम सम्पन्न गर्नुपर्ने कार्यालयले जनाएको छ।