राइफलको गोली, बारुद र खुकुरीसहित एकजना पक्राउ

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

पाँचथरको कुम्मायक गाउँपालिका– १, यासोक बजार क्षेत्रमा धारिलो हतियार देखाई धाकधम्की दिइरहेको अवस्थामा प्रहरीले युवकलाई पक्राउ गरेको छ।

आइतबार फिदिम नगरपालिका– ६, सिवा बस्ने ३२ वर्षीय सुसन तुम्रोकले खुकुरी देखाएर त्रास फैलाइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

उनको शरीर खानतलासी गर्दा प्रहरीले दापसहितको खुकुरी दुई थान, इन्सास राइफलको लाइभ राउन्ड एक थान र २७.७१ ग्राम बारुद बरामद गरेको थियो।

पक्राउ परेका तुम्रोकलाई जिल्ला प्रहरी कार्यालय, पाँचथर ल्याइएको छ। उनीमाथि जिल्ला अदालत पाँचथरबाट ‘खरखजाना तथा विस्फोटक पदार्थ’सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार