फ्लाई दुबईका यात्रुलाई पोखराका होटेल–रेस्टुराँमा छुट

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

फ्लाई दुबईको दुबई–पोखरा–दुबई सिधा उडान सुरु भएसँगै पोखराका होटेल तथा रेस्टुराँ व्यवसायीले यात्रु तथा पर्यटकलाई छुट सुविधा दिने भएका छन्।

होटेल संघ पोखराका अनुसार फ्लाई दुबईबाट आउने यात्रुलाई पहिलो तीन महिनासम्म सहभागी होटेलमा २५ प्रतिशत छुट दिइनेछ। हालसम्म करिब ५० होटेल छुट योजनामा सहभागी भएका छन्। पहिलो उडानबाट बुधबार साँझ पोखरा आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क व्यवस्था गरिएको छ।

त्यस्तै, रेस्टुराँ एन्ड बार एसोसिएसन (रेवान) पोखराले बोर्डिङ पास देखाउने यात्रुलाई आबद्ध रेस्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ। यो योजना पनि प्रारम्भिक रूपमा तीन महिनाका लागि लागू हुनेछ।

पोखराका अन्य पर्यटन व्यवसायीले समेत छुट प्याकेज ल्याउने तयारी गरेका छन्। छुट सुविधालाई एकीकृत गरी एपमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको पर्यटन व्यवसायीहरूले बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई उडानका लागि अनुमति दिएको थियो। तालिकाअनुसार दुबईबाट आएको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने पोखराबाट ७ः१५ बजे दुबईका लागि उड्नेछ।

सुझावित समाचार