दिल्लीबाट फर्किए अर्थमन्त्री वाग्ले : व्यवसायीलाई सम्बोधनदेखि उच्चस्तरीय भेटवार्तासम्म

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको तीनदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्केका छन् । स्वदेश फर्किनुअघि शनिबार उनले नयाँदिल्लीमा भारतका लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई सम्बोधन गर्दै नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरेका छन् । 

इन्डिया ह्याबिट्याट सेन्टरमा भारतीय उद्योग परिसंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको बताए । कार्यक्रममा भारतीय व्यावसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो । 

अर्थमन्त्री वाग्लेले नेपालमा उदीयमान लगानीका अवसरमा सहभागी हुन भारतीय व्यवसायीहरूलाई आमन्त्रण गरे । नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रहरूमा लगानीका लागि ठुलो अवसर प्रदान गर्ने उल्लेख गर्दै पहिले नै नेपालमा सञ्चालित भारतीय कम्पनीहरूलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्ताहरूलाई नेपाली बजारको खोजी गर्नसमेत आह्वान गरे । 

‘डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन र उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण वाहकका रूपमा उदय भइरहेका छन्,’ अर्थमन्त्री वाग्लेले भने, ‘भारतीय व्यवसायीहरूलाई नेपाललाई बजारको रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृंखलामा एकीकरणका लागि रणनीतिक साझेदारको रूपमा हेर्न चाहन्छौँ ।’ उनले लगानी, उत्पादन, ऊर्जा, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्र र अन्य उदीयमान क्षेत्रहरूमा नेपाल–भारत आर्थिक साझेदारीको ठुलो सम्भावना रहेको बताए । 

अर्थमन्त्री वाग्लेले शुक्रबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग र बिहीबार भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गरेका थिए । उनले भोटेकोशी बाढीपछिको पुनर्निर्माणलगायत नेपाल भारत सहकार्यका विषयहरूमा छलफल गरेका थिए ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटमा अर्थमन्त्री वाग्लेले रसुवामा १० भदौमा आएको आकस्मिक बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए । उनले पुनर्निर्माणका लागि भारतको सहयोग अपेक्षित रहेको पनि बताएका थिए । 

नेपाल–भारतबिच विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई सुदृढ बनाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ । भारतीय विदेशमन्त्री जयशंकरले अर्थमन्त्री वाग्लेसँग विशेष गरी आर्थिक, ऊर्जा तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा समगं सहकार्य सुदृढ गर्ने विषयमा छलफल गरेको ट्विटरमा उल्लेख गरेका छन् । 

कूटनीतिक गोलमेचमा सहभागी
अर्थमन्त्री वाग्लेले नेपाल र भारतबिचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने बताउँदै भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तारमा जोड दिए । इन्डिया इन्टरनेसनल सेन्टर (आइआइसी)मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेचमा उनले भोटोकोशी बाढीले पुर्याएको जनधनको क्षतिबारे चर्चा गरेका थिए । विपत्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपाल ‘बिल्ड ब्याक बेटर’को अवधारणा लागू भएको पनि बताए । 

जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि यसको मार हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले अत्यधिक खेप्नुपरेको अर्थमन्त्रीले बताए । उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको मुद्दालाई नेपाल भारतले सँगै मिलेर अघि बढाउनुपर्नेमा जोड दिए । उनले परम्परागत सहायता ढाँचाबाट माथि उठेर विकास वित्तका बदलिँदा आयाम, हरित वित्त र सहुलियतपूर्ण वित्तीय उपकरणहरूको अधिकतम परिचालनमा उनको जोड थियो । 

सुझावित समाचार