खोरेत रोग उन्मूलनका लागि धनकुटामा निःशुल्क खोप

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

खोरेत रोग उन्मूलनका लागि धनकुटामा निःशुल्क खोप अभियान सञ्चालन गरिने भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जिल्लाभर खोरेत रोग उन्मूलनका लागि असोज १५ गतेदेखि निःशुल्क खोप अभियान सञ्चालन गर्न लागेको हो। सो अभियानअन्तर्गत गाई, भैसी, बंगुर र बाख्रा खुर भएका पशुहरूलाई खोप लगाइने केन्द्रले जनाएको छ।

जिल्लाका सातै स्थानीय तहमा खोप सञ्चालनका लागि ४४ जना भ्याक्सिनेटर छनोट गरिएको छ।छनोट भएका सबै भ्याक्सिनेटरहरूलाई जिल्लाको सातै तहमा एकसाथ परिचालन गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका सूचना अधिकारी दिनेश कार्कीले बताए।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष ०८१/८२ देखि खोरेत रोग नियन्त्रण तथा न्यूनीकरणका लागि अभियान सञ्चालन गरेको छ। आगामी पाँच वर्षभित्रमा खोरेत रोग उन्मूलन गर्ने लक्ष्य कोशी प्रदेश सरकारले लिएको छ। गत वर्ष धनकुटामा ४७ हजार पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाएको थियो। पशु चौपायाको स्वास्थ्यसँगै दुध तथा मासुको उत्पादन, बजार विस्तार र गुणस्तरसँग जोडेर खोप सञ्चालन गरिएको छ।

खोरेत रोग चौपायालाई एक स्थानबाट अर्को स्थानमा ओसार पसार गर्दा फैलने गर्दछ। यो खोप वर्षमा दुईपटक लगाइने विज्ञ केन्द्रले जनाएको छ। धनकुटामा दिइने खोरेत रोगविरुद्धको खोप भण्डारणका लागि धनकुटामा कोल्ड चेन नभएकाले विराटनगरमा नै भण्डारण गरिएको छ। भण्डारण गरिएको खोपलाई आवश्यकताअनुसार ल्याएर प्रयोग गरिने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जनाएको छ। 
 

सुझावित समाचार