खाँदबारीमा खोल्सामा चिप्लिएर लडेकी महिलाको मृत्यु

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका– १, सुनडाँडास्थित खोल्सामा चिप्लिएर लडेकी एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खाँदबारी– १, सुनडाँडाकी ३५ वर्षीया कल्पना विश्वकर्मा रहेकी जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।

उनका अनुसार कल्पना बिहीबार साँझ करिब ७ बजे घरनजिकैको खोल्सा तर्ने क्रममा चिप्लिएर लडेकी थिइन्। लडेर गम्भीर घाइते भएकी उनी रातभर खोल्सामै रहेकी थिइन्।

शुक्रबार दिउँसो करिब १ बजे स्थानीयले उनलाई खोल्सामा लडिरहेको अवस्थामा देखेपछि हारगुहार गरेका थिए। त्यसपछि उनका दाइ सुरेश विश्वकर्मासहितको टोलीले उद्धार गरी जिल्ला अस्पताल खाँदबारी ल्याएको प्रहरीले जनाएको छ।

अस्पताल ल्याउँदासम्म कल्पना बोल्न सक्ने अवस्थामा रहेको भए पनि चिकित्सकले शुक्रबार दिउँसो २ः३० बजे उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक राजवंशीले बताए।

संखुवासभामा बिहीबार बिहानैदेखि शुक्रबारसम्म निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण खोल्सामा पानीको बहाव बढेको र सोही क्रममा खोल्सा तर्ने क्रममा चिप्लिएर कल्पना लडेकी प्रहरीको भनाइ छ। लडेपछि उठ्न नसकेका कारण उनी रातभर पानीमा भिजेको बताइएको छ।

प्रहरीका अनुसार कल्पनाका श्रीमान् कान्छी श्रीमती र दुई छोरीसहित भोजपुरमा बस्दै आएका छन्। कल्पना भने सुनडाँडास्थित घरमा एक्लै बस्दै आएकी थिइन्। प्रहरीले उनले मादक पदार्थ सेवन गर्ने गरेको र घरमा एक्लै बस्ने भएकाले तत्काल खोजी नभएको जनाएको छ।

सुझावित समाचार