जाजरकोटमा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ लाई भव्य र उत्साहपूर्ण रूपमा मनाउन अपिल गरिएको छ। बिहीबार जिल्ला सदरमुकाम खलंगामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले दुई दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै दिवसलाई उत्साहका साथ मनाउन अपिल गरेको हो।
बैठकले संविधान दिवसको अवसरमा शुक्रबार खलंगा बजार तथा आसपासका क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्ने र शनिबार बिहान सदरमुकाममा राष्ट्रिय झन्डासहित शान्तिपूर्ण र्याली निकाल्ने निर्णय गरेको छ। संविधान दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी नागरिकको सहभागिता बढाउने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।
शनिबार निकालिने र्यालीमार्फत संविधान, लोकतन्त्र, राष्ट्रिय एकता र नागरिक अधिकारको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम तय गरिएको छ। संविधान दिवसलाई सबै नागरिकको साझा पर्वका रूपमा मनाउन स्थानीय तह, सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, सामुदायिक संघसंस्था तथा आमनागरिकलाई सहभागी हुन आग्रह गरिएको छ। असोज २ र ३ गते सरकारी कार्यालय तथा सार्वजनिक महत्त्वका स्थलमा दीप प्रज्वलन गर्ने कार्यक्रमसमेत तय गरिएको छ। असोज ३ गते साँझ आमनागरिकलाई आ–आफ्ना घरमा दीप प्रज्वलन गर्न प्रशासनले आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी नवराज बरालले संविधान दिवसलाई सरकारी निकायको मात्र कार्यक्रम नभई सबै नागरिकको सहभागितामा राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने बताए। उनले दिवसका अवसरमा हुने कार्यक्रमलाई सभ्य, शान्तिपूर्ण र जनसहभागितामूलक बनाउन सबै पक्षलाई आग्रह गरे। संविधानले सुनिश्चित गरेका लोकतान्त्रिक मूल्य, नागरिक अधिकार, राष्ट्रिय एकता र सामाजिक सलभावलाई बलियो बनाउने सन्देशसहित दिवस मनाउनुपर्नेमा उनले जोड दिए। ‘संविधान दिवसलाई औपचारिकतामा सीमित नगरी आमनागरिकको सहभागितामा उत्साहका साथ मनाउनुपर्छ,’ प्रजिअ बरालले भने।
मूल समारोह समितिको निर्णयअनुसार जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयमा राष्ट्रिय झन्डा र ब्यानर सजाउने, कार्यालय परिसर सरसफाइ गर्ने, धार्मिक तथा सांस्कृतिक सम्पदा स्थलको सरसफाइ तथा सौन्दर्यकरण गर्ने र रचनात्मक एवं जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।
संविधान दिवसको अवसरमा जिल्लाका मठमन्दिर तथा धार्मिक स्थलमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, लोकतन्त्र र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धासुमन अर्पण गर्ने कार्यक्रमसमेत राखिएको छ।