बुधबार १० बजेसम्मका प्रमुख १० खबर

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढी : सुरुङ खोज तथा उद्धारकाे के छ पछिल्लाे अवस्था ?

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रबाट हालसम्म चार हजार १७७ जनाको उद्धार गरिएको छ। बुधबार साँझ साढे ६ बजेसम्मको तथ्यांकअनुसार तीन हजार ८९४ स्वदेशी र २८३ विदेशीको उद्धार गरिएको हो।

चिलिमे हाइड्रोमा गोताखोरसहितको संयुक्त उद्धार टोलीले आज टनेलको ब्रेक थ्रु गरी अन्तिम किनारासम्म खोजी कार्य गर्दा चारवटा शव र एक मानव अंग फेला पारेको छ। यसअघि भदौ १५ गते उक्त टनेलबाट एक शव र एक मानव अंग फेला परेको थियो। फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत त्रिशूली ल्याइएको छ।

प्रतिनिधिसभा नियमावलीको संविधान संशोधनसम्बन्धी प्रावधान कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

प्रतिनिधिसभा नियमावली २०८३ को संविधान संशोधन तथा प्रमाणीकरणसम्बन्धी प्रावधान यथास्थितिमा राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ। नियमावलीविरुद्ध परेको रिटमा सर्वाेच्चको संवैधानिक इजलासले संवैधानिक प्रबन्धको प्रतिकूल रहेको भन्दै कार्यान्वयन नगर्न भनेको हो । 

प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको संवैधानिक इजलासले बुधबार अन्तरिम आदेश दिएको हो। नेपाली कांग्रेसकी राष्ट्रिय सभाको संसदीय दलकी नेता कमला पन्तले नियमावलीविरुद्ध दिएको रिटमा अन्तरिम आदेश जारी भएको हो। 

उक्त नियमावलीको व्यवस्था कार्यान्वयन रहँदा संवैधानिक प्रावधानमा अपूरणीय क्षति पुग्न जाने एवं रिट निवेदकको पक्षमा सुविधा सन्तुलनको स्थितिसमेत देखिएको भन्दै संवैधानिक इजलासले नियमावली कार्यान्वयनमा रोक लगाएको हो। विपक्षी दलको विरोधकाबिच सदनबाट नियमावली पारित गरिएको थियो। 

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने २४ वर्षीय युवक पक्राउ

एक अर्ब ३४ करोड रुपैयाँबराबरको हुन्डी कारोबार गरेको आरोपमा  २४ वर्षीय युवक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) र धनुषा प्रहरीले सहिदनगर नगरपालिका ४ स्थायी घर भएका २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरेको हो। उनलाई मंगलबार प्रहरीले घरबाटै पक्राउ गरेको हो। 

‘भिजिट भिसामा पुरानै मापदण्ड ब्युँंताउन दलालहरू सक्रिय’(भिडियोसहित)

भिजिट भिसामा पुरानै प्रावधान ब्युँताउन केही दलालहरू सक्रिय हुन थालेको अध्यागमन विभागका अधिकारीले जनाएका छन् । गत वर्ष कात्तिकदेखि कागजपत्र पुगेका कुनै पनि नागरिकलाई विदेश भ्रमणमा नरोक्ने गरी सरकारले मापदण्ड लागू गरेको थियो ।

त्यो प्रावधानले विदेशमा महिलाहरू बेचिएको भाष्य बनाएर दलाल समूह पुरानै प्रावधान लागू गराउन सक्रिय हुन थालेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । ‘नेपाली नागरिक विदेश जान योग्य छस्/छैनस् भनेर सब्जेब्टिभ आधारमा जाँच्ने र फर्काउने, भाष्यचाहिँ नागरिकहरू बेचिन्छन् भनेर बनाउने यो दलालहरूको इकोलोजीले जे बनाउन खोजेको छ, त्यसमा कतै न कतै यस्ता भ्वाइसहरू आउन थालेको देख्छु,’ बुधबार विभागमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । तथ्यांक प्रस्तुत गर्दै उनले विगतमा भन्दा अहिले भिजिट भिसामा जाने महिलाहरूको संख्या कम भएको बताए । मापदण्ड सहज बनाएपछि महिलाहरू बेचिएको भनेर भ्रम फैलाएको विभागको दाबी छ । सबै पक्षसँग छलफल र उच्चस्तरीय समितिको सिफारिसका आधारमा भिजिट भिसामा विदेश जानेलाई दुईतर्फी टिकट, होटेल बुकिङलगायत प्रावधान हटाइएको थियो । त्यसरी सहजीकरण गर्नुअघि र पछि भिजिट भिसामा विदेश जानेको संख्या उस्तै रहेको विभागको तथ्यांक छ। 

सरकारले भन्यो– चिनी ११० रुपैयाँ किलोमै सर्वसुलभ उपलब्ध छ, अधिक सञ्चय नगर्नू

बजारमा चिनीको मूल्य बढेर प्रतिकिलो १४० रुपैयाँसम्म पुग्दा सरकारले भने ११० रुपैयाँमै सर्वसुलभ विक्री-वितरण भइरहेको बताएको छ। उद्योग मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो।

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहको अध्यक्षतामा मंगलबार सरोकारवालाहरूसँग बैठक बसेको थियो। बैठकमा सहभागीहरूले भाटभटेनी, बिग मार्ट, सेल्सबेरीलगायत काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रहरूमा प्रतिकेजी ११० रुपैयाँमै चिनी सर्वसुलभ रूपमा विक्री-वितरण भइरहेको पाइएको बताएका विभागले जनाएकाे छ।

चार सुकुमवासीको नाममा जग्गा भेटियो, कारबाही गर्न निर्देशन

काठमाडौं आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चारजनाको नाममा जग्गा भेटिएको छ।  भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारबाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ। भूमि अभिलेखबाट प्राप्त विवरणमा इलाम, ताप्लेजुङ, झापा, काभ्रे जिल्लामा उनीहरूको तथा परिवारको नाममा जग्गा रहेको  भेटिएको हो।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

सरकारले सेयर कारोबारमा पुँजीगत लाभकर घटाउने निर्णय गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

बैठकले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गर्ने, चक्रीय राहत कोष सञ्चालन कार्यविधि- २०८३ स्वीकृत गर्नेलगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

पर्यटकले यात्रा गर्दा अब पासपोर्ट बोक्नु नपर्ने, मोबाइल एपमा देखाए हुने

पासपोर्ट फ्री ट्राभल’को अवधारण लागू गर्दै अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी पर्यटकले यात्रा गर्दा सँगै पासपोर्ट बोक्न नपर्ने व्यवस्था गरेको छ। विभागको मोबाइल एपमै पासपोर्टको डिजिटल विवरण देखाए हुने गरी प्रणाली बनाइएको छ । 

त्यसका लागि पर्यटकले ‘डिपार्टमेन्ट अफ इमिग्रेसन’ मोबाइल एपमा लगइन गरी आफ्नो पासपोर्टको विवरण राख्नुपर्ने हुन्छ। सोही एपमा देखाउने पासपोर्टको विवरणलाई नेपालमा सबै निकायले मान्यता दिने विभागका निर्देशक टीकाराम ढकालले बताए । यसले पर्यटकलाई पनि सहज हुने र डिजिटल ट्रयाकिङ गर्न सरकारलाई पनि सहज हुने उनी बताउँछन् । सुरुमा प्रवेश हुँदा अध्यागमनमा पासपोर्ट देखाएर मोबाइल एपमा लगइन गरेपछि पर्यटकले पासपोर्ट बोक्नुपर्नेछैन। हाल हिमाल आरोहणमा जाँदा पनि सँगै पासपोर्ट लिएर जानुपर्ने हुन्छ। पर्यटकलाई नै सहज बनाउने गरी यो व्यवस्था गरिएको विभागले जनाएको छ। 

लामिछाने नेतृत्वको उच्चस्तरीय संयन्त्रलाई निरन्तरता दिने सर्वदलीय बैठकको निर्णय

रास्वपा सभापति रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रले निरन्तरता पाएको छ। बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले यसअघिकै संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको हो।

संयन्त्रका सदस्यमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीका तर्फबाट शीर्ष तथा महत्त्वपूर्ण नेतृत्वको प्रतिनिधित्व रहनेछ।

नेपाल र बंगलादेशबिच पहिलोपटक टी–२० शृंखला हुने

नेपाल र बंगलादेशबिच पहिलोपटक टी–२० शृंखला हुने भएको छ। २०२७ को मार्चमा तीन खेलको सिरिज हुन लागेको नेपाल क्रिकेट संघले सार्वजनिक गरेको छ। 

सिरिजका लागि बंगलादेशको टोली नेपाल आउनेछ। यसअघि नेपालले टेस्ट राष्ट्रमध्ये वेस्ट इन्डिजसँग टी–२० सिरिज खेलेको थियो। 

सुझावित समाचार