पासपोर्ट फ्री ट्राभल’को अवधारण लागू गर्दै अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी पर्यटकले यात्रा गर्दा सँगै पासपोर्ट बोक्न नपर्ने व्यवस्था गरेको छ। विभागको मोबाइल एपमै पासपोर्टको डिजिटल विवरण देखाए हुने गरी प्रणाली बनाइएको छ ।
त्यसका लागि पर्यटकले ‘डिपार्टमेन्ट अफ इमिग्रेसन’ मोबाइल एपमा लगइन गरी आफ्नो पासपोर्टको विवरण राख्नुपर्ने हुन्छ। सोही एपमा देखाउने पासपोर्टको विवरणलाई नेपालमा सबै निकायले मान्यता दिने विभागका निर्देशक टीकाराम ढकालले बताए । यसले पर्यटकलाई पनि सहज हुने र डिजिटल ट्रयाकिङ गर्न सरकारलाई पनि सहज हुने उनी बताउँछन् । सुरुमा प्रवेश हुँदा अध्यागमनमा पासपोर्ट देखाएर मोबाइल एपमा लगइन गरेपछि पर्यटकले पासपोर्ट बोक्नुपर्नेछैन। हाल हिमाल आरोहणमा जाँदा पनि सँगै पासपोर्ट लिएर जानुपर्ने हुन्छ। पर्यटकलाई नै सहज बनाउने गरी यो व्यवस्था गरिएको विभागले जनाएको छ।
यससम्बन्धी सम्पूर्ण प्राविधिक तयारी पूरा गरी विभागले स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको छ। मन्त्रालयबाट स्वीकृत भएलगत्तै यसलाई कार्यान्वयन गरिने प्रवक्ता ढकालले बताए।