भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूका लागि नेपाली समाज भारत, केन्द्रीय समितिले २१ लाख २१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
गत १० भदौमा रसुवा, नुवाकोटलगायतका जिल्लामा गएको बाढीले ठुलो जनधनको क्षति पुर्याएपछि समाजले राहत तथा पुनर्स्थापनाका लागि सो रकम हस्तान्तरण गरेको हो। उक्त रकम नयाँदिल्लीस्थित नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापामार्फत नेपाल सरकारको राहत कोषका लागि हस्तान्तरण गरिएको छ।
नेपाली समाज भारतका केन्द्रीय सहसंयोजक आरबी खड्काको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सो रकम कार्यवाहक राजदूतलाई बुधबार हस्तान्तरण गरेको हो। हस्तान्तरण टोलीमा सहसंयोजक वेदप्रकाश भण्डारी, सदस्यहरू मानु श्रेष्ठ, नारायण विक, दीपक जिसी, माइकल क्षेत्री, नारायण विष्ट, लक्ष्मण सोनी तथा समाजसेवी लक्ष्मी रावतलगायत सहभागी थिए।
यसअघि मानवीय अभियानको प्रारम्भिक चरणमा पनि समाजका विभिन्न राज्य समितिहरू (तमिलनाडु–पुडुचेरी, पञ्जाब, महाराष्ट्र, दिल्ली क्षेत्र, गुजरात, हिमाचल, कर्नाटक, मध्य प्रदेशलगायत)को सक्रियतामा दुई लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकाेप उद्धार कोषमा पठाइसकिएको समाजले जनाएको छ।
नेपाली समाज भारतका केन्द्रीय संयोजक चक्रबहादुर मलाती ‘शीतल’ले विज्ञप्ति जारी गरी विपत्तिको यस कठिन घडीमा आर्थिक तथा नैतिक सहयोग पुर्याउने भारतभरका नेपाली समुदाय, भारतीय नागरिक तथा शुभेच्छुकहरूप्रति समाजले हार्दिक आभार व्यक्त गरेको जनाएका छन्। साथै, देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आ–आफ्नो क्षमताअनुसार राहत र पुनर्स्थापना कार्यमा सहयोग गर्न पनि समाजले अपिल गरेको छ।