नेपाली कांग्रेसका सचेतक निस्कल राईले प्रचार नभई परिणामलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक राईले यस्तो बताएका हुन्।
‘रसुवाको बाढीमा घर गुमाएका नागरिकले, आफन्त गुमाएका परिवारले, रोजगारी गुमाएका युवाले, महँगीले थिचिएका परिवारले, न्याय खोजिरहेका नागरिकले र भविष्य खोजिरहेको नयाँ पुस्ताले सरकारसँग भाषण होइन, परिणाम खोजेको छ। सरकारसँग आश्वासन होइन, उत्तरदायित्व खोजेको छ। सरकारसँग शक्ति होइन, सुशासन खोजेको छ,’ उनले भने।
बाढी प्रभावितलाई राहतको एउटा प्याकेज दिएर मात्र राज्यको दायित्व पूरा नहुने भन्दै उनले पुनर्निर्माण र पुनर्स्थापनाको योजनाबारे प्रश्न राखे।
‘घर बग्यो। जग्गा कटान भयो। सडक र पुल भत्किए। विद्यालय र स्वास्थ्य संस्था प्रभावित भए। व्यवसाय बन्द भए। विद्युत् आयोजनामा क्षति भयो। दैनिक रोजगारी गुम्यो। यस्तो अवस्थामा प्रभावितको हातमा राहतको एउटा प्याकेज दिएर मात्र राज्यको दायित्व पूरा हुँदैन,’ उनले भने।
यद्यपि, प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग संवाद गर्दै पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धताले केही आशा जनाएको उनको भनाइ छ।